माओवादी नेता पुनको स्वास्थ्यमा सुधार
काठमाडौं, मंसिर १३ : माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ।गत शुक्रबार थाइल्यान्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित...
काठमाडौं, मंसिर १३ : माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ।
गत शुक्रबार थाइल्यान्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर उपचार सुरु गरिएको थियो।
उपचार सुरु गरेपछि उनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन्। विशेष गरी अमलपित्त बिग्रिएका कारण बान्ता हुने, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या देखिएका थिए।
उपचारमा संलग्न चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने जानकारी दिएको नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादीका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए।
नेता पुन गत असोज १३ गते उपचारका लागि बैंकक गउका थिए। नेपालमा ललितपुरस्थित सुमेरू अस्पताल र ग्रान्डी अस्पतालमा उपचार गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो।











