वरिष्ठ नेता पौडेलले अघि सारे कांग्रेस रुपान्तरणका १० सूत्र (पूर्णपाठसहित)
आज काठमाडौंको बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमबीच उनले ‘अबको कांग्रेस’ शीर्षकमा कांग्रेस रुपान्तरणका १० सूत्र सार्वजनिक गरेका हुन्।
काठमाडाैं, मंसिर १२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रुपान्तरणका १० सूत्र सार्वजनिक गरेका छन्।
आज काठमाडौंको बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमबीच उनले ‘अबको कांग्रेस’ शीर्षकमा कांग्रेस रुपान्तरणका १० सूत्र सार्वजनिक गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले देशमा लोकतान्त्रिक प्रणाली स्थापना भएको तर दलहरूलाई लोकतान्त्रीकरण गर्नु आवश्यक रहेको स्पष्ट पारे।
उनले दलहरुको आन्तरिक लोकतन्त्र मजबुत नहुँदा अदालतको अवस्थासमेत बिग्रन पुगेको उल्लेख गरे।
१९ पृष्ठमा समेटिएको उनकाे धारणापत्रमा नेपाली कांग्रेसको अवस्था, राजनीतिक वितृष्ण हटाउने उपाय, लोकतन्त्रका निमित्ति थकानरहित लडाइँको आवश्यकता, महाधिवेशनको जिम्मेवारी, पार्टी सुदृढीकरणको उपायबारे उल्लेख छ।
त्यसैगरी लोकतान्त्रिक आचरण, विचारको राजनीति, आर्थिक वृद्धि (कृषि, पूर्वाधार, जलस्रोत, मनवीय स्रोत, प्रविधिको विकास, पर्यटन, वातावरण), न्यायपूर्ण वितरण, दिगो विकास, सुशासन, समाज व्यवस्था, परराष्ट्र सम्बन्धबारे धारणा पनि त्यसमा समेटिएकाे छ।
पाैडेलका कांग्रेस रुपान्तरणका १० सूत्र यसप्रकार छन्ः
१. वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔं। समावेशी नेपाल साकार पारौं।
२.कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौं।
३. विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं।
४. राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाऔं। राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं।
५. आर्थिक सामाजिक, साँस्कृतिक र राजनीतिक रुपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘प्याडिकल सेन्टर’ बाटोमा हिँडाउने।
६. निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो। राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन। स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ। मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो, स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद। पहिले सबै बाँचौ अनि प्रतिस्पर्धा गरौं। राज्य जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन। तर, जतासुकै हस्तक्षेप पनि गर्दै।
७. विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा हो। सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुति तन्नेरी कांग्रेसको निश्चल चरित्र हुनुपर्छ। कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन। सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको काँग्रेस जसले २०१५ सालमा दुईतिहाइ जनसमर्थन प्राप्त गयो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा कांग्रेसलाई उजिल्याउन अथक प्रयास गरौं।
८. सबै जनतालाई खान लाउन पुग्ने कृषि क्रान्ति र पर्यटनको विस्तार गरौं। देशलाई समृद्ध पार्न उर्जा क्रान्ति र आफनै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गरौं।
९.नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔं।
१०. कम्युनिष्टले छरेका भ्रम र झूटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली काँग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं। राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाऔं। राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं। विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं।











