कांग्रेसको कञ्चनपुर जिल्ला सभापतिमा बोगटी निर्वाचित

महेन्द्रनगर, मंसिर १२ः नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित भएका छन्।
आज आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी बहादुरसिंह थापाले ७१५ मत प्राप्त गरे।
बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए भने नेता थापा अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँद समूहको प्यानलमा थिए।
त्यसैगरी कांग्रेस उपसभापतिमा मीनबहादुर सिंह र हरिचन्द्र राना निर्वाचित भए। सिंहले ७८६ मत प्राप्त गर्नुभयो भने रानाले ७६३ मत प्राप्त गरी विजयी भए। उपसभापतिका प्रत्यासीद्वय दिवाकर पाण्डेयले ७०४ र शङ्करबहादुर चन्दले ७४० मत पाए।
त्यसैगरी सचिव पदमा भीमराज भट्ट र हेमराज ओझा निर्वाचित भए। त्यस्तै सहसचिवमा नाफुसिंह साउँद र पुष्कल चौधरी निर्वाचित भए।
कांग्रेस कञ्चनपुरका पदाधिकारीको मतपरिणाम सार्वजनिक भए पनि सदस्यको भने गणना कार्य जारी रहेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा कूल एक हजार ५७१ मत खसेको थियो ।











