वरिष्ठ उपाध्यक्ष र महासचिवको टुंगो नलागेपछि ओली छलफलमा, प्रतिनिधिहरु बन्दसत्र हलमा कुर्दै
वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि सहमति हुन नसकेपछि छलफल लम्बिएको हो। वरिष्ठ उपाध्यक्ष पदका लागि इश्वर पोखरेल र सुवास नेम्वाङले दाबी गर्दै आएका छन्। ओली आफै भने पोखरेललाई वरिष्ठ अध्यक्ष बनाउँदै नेम्वाङलाई उपाध्यक्ष बनाउने पक्षमा छन्।
काठमाडौँ, मंसिर १२ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै पदाधिकारी चयन गर्न आन्तरिक छलफलमा जुटेका छन्। शीर्ष नेताहरुले आ–आफ्नो दाबी नछाडेपछि ओलीलाई पदाधिकारीको टुंगो लगाउन सकस भएको हो।
आइतबार बिहान १० बजेदेखि नै पदाधिकारी घोषणा प्रकृया शुरु गरिने कार्यसूची थियो तर सर्वसम्मत रुपमा पदाधिकारीको टुंगो नलागेपछि शीर्ष नेताहरुलाई मिलाउनका लागि ओली पार्क रिसोर्टमै समूहगत र एक्लाएक्लै छलफलमा व्यस्त रहेका छ्न।
विशेषगरी वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि सहमति हुन नसकेपछि छलफल लम्बिएको हो। वरिष्ठ उपाध्यक्ष पदका लागि इश्वर पोखरेल र सुवास नेम्वाङले दाबी गर्दै आएका छन्। ओली आफै भने पोखरेललाई वरिष्ठ अध्यक्ष बनाउँदै नेम्वाङलाई उपाध्यक्ष बनाउने पक्षमा छन्।
नेम्वाङलाई वरिष्ठ अध्यक्षको रेसबाट बाहिर निकाल्न ओलीले राष्ट्रपति बनाउने सम्मको आश्वासन दिएको बताइन्छ। तर, नेम्वाङ वरिष्ठ अध्यक्षको दाबीबाट पछि नहट्दा ओलीमाथि थप दबाब बढेको हो।
त्यस्तै शंकर पोखरेल र विष्णु पौडेलबीच महासचिवका लागि एकले अर्कालाई सहयोग गर्ने सहमति हुन सकेको छैन। ओली पोखरेललाई महासचिव बनाउने पक्षमा देखिएका छन्। यसका लागि विष्णु पौडेललाई सहयोग गर्न पटकपटक अनुरोध गरेपनि उनी सहमतिमा नआउँदा निर्वाचनकै दबाब बढेको हो।
पौडेल आफू कुनैपनि अवस्थामा महासचिवको उम्मेदवारबाट पछि नहट्ने अडानमा देखिएका छन्। उनले आफूसँग १० बूँदे प्रस्तावका पक्षधरहरुको पनि समर्थन रहेको र निर्वाचन भएको अवस्थामा स्वतः आफूले जित्ने दावी गरेका छन्। वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि सहमति जुट्न नसकेपछि ओलीले भीम रावलसँग छलफल गर्न पाएका छैनन्।
रावल पनि कुनैपनि हालतमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने पक्षमा छन्। रावललाई सहमतिमा ल्याउनका लागि ओलीले एक्लाएक्लै छलफल गर्ने योजना बनाएपछि अन्य पदाधिकारीको टुङ्गो लगाउन समस्या देखिएपछि रावलसँग छलफल गर्ने समय नपाएका हुन्।
ओली छलफलमै ब्यस्त भएपछि होटल सेभेन स्टारको बन्दसत्र हलमा प्रतिनिधिहरु कुरेर बसेका छन्। करिब साढे ११ बजेदेखि नै प्रतिनिधिहरु बन्दसत्र हलभित्र प्रवेश गरेका थिए।











