कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतमा थप प्रतिबन्ध
लन्डन, मङ्सिर १२ : हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ।बेलायतले अहिलेको भन्दा थप कडा...
लन्डन, मङ्सिर १२ : हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ।
बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्ध घोषणा गरेको जनाइएको छ। त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ।
बेलायत आउने हरेक यात्रुले दुई दिनयताको स्वास्थ्य रिपोर्ट अनिवार्य रूपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पिसिआर टेस्ट गरिनेछ।
यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस पोजेटिभ देखिए आफै आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र बाहिर निस्किन पाउने बताइएको छ।
हालै अफ्रिकामा देखिएकोे भनिएको नयाँ भाइरस बेलायतमा देखिएको स्वास्थ्यमन्त्री सजिद जाभिदले शनिबार जानकारी दिएका थिए।
यो भाइरसको सङ्क्रमण देखिएका दुईजनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताए।
बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएका छन्।
उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसिआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिएका हुन्।
साथै बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ।











