Kathmandu Press

अध्यक्ष पदका लागि ओलीसँग भिड्ने पक्षमै रावल, बन्दसत्र स्थलमा कार्यकर्ताले बाँडे पर्चा 

काठमाडौं, मंसिर १२ः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जारी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने अडान कायम गरेका छन्।   शनिबारको बन्दसत्रमा पार्टीको पदाधिकारी तथा...
अध्यक्ष पदका लागि ओलीसँग भिड्ने पक्षमै रावल, बन्दसत्र स्थलमा कार्यकर्ताले बाँडे पर्चा 

काठमाडौं, मंसिर १२ः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जारी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने अडान कायम गरेका छन्।   शनिबारको बन्दसत्रमा पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य चयन  गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि राववले असन्तुष्टि व्यक्त गरेका थिए। 

एमालेको नवौं महाधिवेशनबाट पारित विधानमा नै पार्टीको पदाधिकारी चुन्न र चुनिन पाइने व्यवस्था गरेका कारण आफू कुनैपनि अवस्थामा अध्यक्षको उम्मेदवारबाट ब्याक नुहुने पक्षमा रावल देखिएका छन् । 

रावलले पछि नहट्ने संकेत गरेपछि एमालेभित्रका दोस्रो तहका नेताहरुले उनलाई फकाउने प्रयास समेत गरेका छन् । महाधिवेशनको शुरुवातदेखि नै सबै पदाधिकारी सर्वसम्मत चयन गर्ने बताउँदै आएका ओली आफूविरुद्ध नै उम्मेदवारी पर्ने देखिएपछि आन्तरिक गृहकार्यमा जुटेका छन् । 

शनिबारको बन्दसत्रमा करिब २ घण्टासम्म सम्बोधन गरेका ओलीले भीम रावलकै उम्मेदवारीलाई संकेत गर्दै पछि पालो आउने बताएका थिए। पदाधिकारी र केन्द्रीय कमिटी सर्वसम्मत रुपमा चयन गरी एमाले एकिकृत रहेको सन्देश दिने ओलीको योजनामा रावलले धक्का पुर्याएपछि उनको सम्बोधनमा आक्रोश र धम्की दुबै सुनिएको थियो। 

बन्दसत्रहलमा रावलले महाधिवेशनको मर्म बुझेरै आफूले उम्मेदवारी दिने निर्णय गरेको बताएका थिए। उनको अभिव्यक्तिलाई मत्थर पार्नका लागि बन्दसत्रस्थलमा रहेका प्रतिनिधीहरुले होहल्ला समेत गरेका थिए। लगत्तै महासचिव विष्णु पौडेलले सहमतिमा आउनका लागि रावललाई आग्रह गर्दै गर्दा हलभित्र सिठ्ठी र हुटिङ लगाइएको थियो। 

रावलले उम्मेदवारी फिर्ता नलिने भएपछि आइतबार बिहानैदेखि ओली आन्तरिक छलफलमा जुटेका छन्। उनीपक्षका शीर्ष नेताहरु समेत रावललाई उम्मेदवारी नदिनका लागि आग्रह गरिरहेको बताइएको छ भने जुनसुकै हालतमा उम्मेदवारी दिने पक्षमै रावल छन्। 

आइतबार बिहानै रावलपक्षमा रहेका कार्यकर्ताहरुले बन्दसत्र हुने होटल परिसरमा पर्चा समेत बाँडेका छन्। बन्दसत्र स्थलमा आएका प्रतिनिधिहरुलाई पर्चा बाँडेपछि स्वंयसेवकहरुले हस्तक्षेप गरेका थिए। यसअघि जारी भएको महाधिवेशन निर्वाचन आचारसंहितामा पर्चा, पोस्टर र पम्पलेट बाँढ्न बञ्देज गरिएको छ। 

रावलले उम्मेदवारी दर्ता गरेको खण्डमा हलमा उनका समर्थकहरुलाई हात उठाउन लगाएर शक्ति देखाइदिने तयारी ओलीको छ। 
एमालेले आइतवार नेतृत्व चयनको काम सक्ने र सोमवार बिहान चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति: ११:३३ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्