Kathmandu Press

माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता

काठमाडौं, मंसिर ११ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गरेका छन्।पछिल्ला दिनमा माओवादीप्रति...
माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता

काठमाडौं, मंसिर ११ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गरेका छन्।

पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उनले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा नयाँ आधारमा जनतामा स्थापित भएरै छाड्ने विश्वास व्यक्त गरे।
 
देशभरका पालिका सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले पार्टीलाई आफ्नै खुट्टामा उभिने क्रान्तिकारी पार्टी बनाउने क्रम शुरु भइसकेको जानकारी दिए।

अध्यक्ष दाहालले हालसम्म केन्द्रीय कार्यालयमा झन्डै ८ लाख सक्रिय पार्टी सदस्यको नामावली प्राप्त भइरहेको र प्रक्रियामा रहेका झन्डै २ लाख गरी १० लाख बराबरको सक्रिय सदस्य पुग्ने अवस्था देखिएको जानकारी दिए।
 
माओवादी पार्टी पुनः मुलुकको पहिलो पार्टी बन्ने  उल्लेख गर्दै उनले विचार, राजनीति र संगठनमा रहेको अलमलसमेत अब सकिएको स्पष्ट पारे। संगठनात्मक अभियानलाई क्रियाशिलताका साथ अगाडि बढाएपछि तराई मधेसदेखि हिमाली जिल्लामा समेत पार्टीप्रतिको आकर्षणमा थप वृद्धि भएको उनको भनाइ छ। 

डोल्पा, भोजपुर, रौतटह र सर्लाहीलगायत जिल्लामा भएका जनसभालगायतबाट पनि पार्टीप्रति जनताको विश्वासमा वृद्धि भएको आफूले पाएको अध्यक्ष दाहालले उल्लेख गरे।

पार्टीमा महिलाको सहभागिता बढाएर ३५ प्रतिशत पुर्‍याइएको, युवाको प्रतिनिधित्व २० प्रतिशत रहने गरी सुनिश्चिता गरिएको तथा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई विशेष प्राथमिकतामा राखिएका कारण जनताले माओवादी नै भरोसायोग्य पार्टी भएको विश्वास गरेको उनको भनाइ छ।
 
अध्यक्ष दाहालले पार्टीलाई नयाँ शिराबाट उठाउने विश्वास दिलाएका कारण माओवादीमा बुद्धिजीवी, युवा, मजदुर, किसान र  विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको आकर्षण बढेको दाबी गरे।

विचार र राजनीतिक कार्यदिशाको अभावमा आयोजना गरिने सम्मेलन र महाधिवेशन कुम्भ मेला जस्तो देखिने तर्क गर्दै उनले भने, ‘जहाँ विचार र छलफलका लागि ठाउँ छैन। तर, जनतालाई भ्रम दिने कोसिस भइरहेको छ। त्यस्ता सम्मेलनको कुनै अर्थ हुँदैन।’

संविधान,सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्रका साथ प्रतिनिसिभाको विघटन गरिएको र परिवर्तनका सबै एजेण्डलाई ध्वस्त पार्न खोजिएका कारण जनताले बाध्य भएर त्यसको प्रतिवाद गरेको उनको भनाइ थियो। उनले भने, ‘प्रतिगमनप्रति गरिएको प्रतिवादका कारण आजको अवस्थामा हामी छौं, यो हामी सबैका लागि खुसी र गर्वको कुरा हो।’

समाजवादी क्रान्ति गर्न लायक पार्टी बनाउने सङ्कल्प गरेको जानकारी दिँदै उनले समाजवादी क्रान्तिको मोडेल, आर्थिक, राजनीतिक र सांस्कृतिक नीति निर्माण गर्ने नीति र योजनाको सङ्कल्प गरिएको बताए।

पछिल्लो पटक प्रतिगमन विरोधी वर्गसङ्घर्षमा प्राप्त गरेको सफलताका आधारमा र विचार निर्माणका लागि लिइएको दिशा निर्देशन र प्रतिबद्धतालाई कार्यान्वयन गर्न पनि सोहीअनुसारको नेतृत्व आवश्यक रहेकाले सोही दिशामा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। पार्टीको समग्र विचार निर्माणमा कम ध्यान गएको र कमजोरी भएको स्वीकार गर्दै उनले तत्कालीन दैनिक काम कारबाही र जोड घटाउनमा लाग्दा विचार निर्माणको विषय छुटेकाले अब त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे। 

माओवादी कमजोर भए परिवर्तनका एजेन्डा र राष्ट्रियतासमेत कमजोर हुने भएकाले पार्टीलाई बलियो र जनमुखी बनाउन सबैको उत्तिकै प्रयत्न जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ। उनले भने, ‘हामीलाई निश्क्रिय हुने छुट छैन।

हामीले जुन लाइन लिएको हो, त्यसलाई दृढताका साथ अगाडि बढाउन जरुरी छ। राष्ट्रका निम्ति पनि आवश्यक छ।’ परिवर्तन उल्ट्याउने षड्यन्त्रलाई परास्त गर्न आक्रामक रुपमा क्रियाशील हुनसमेत आग्रह गरे। 

पार्टी सदस्य सङ्ख्या १० लाख पुगेकाले प्रत्येक पार्टी सदस्यले चारजना मतदाता तयार पारे ४० लाख मत पार्टीको पक्षमा आउने भन्दै सोही लक्ष्यका साथ क्रियाशिल हुनसमेत ध्यानाकर्षण गराए।

सरकारका नीति तथा कार्यक्रम, पार्टीको नीति तथा कार्यक्रम र जनताको आवश्यकताको आधारमा समाजवादी कार्यदिशा तय गर्नुपर्नेमा उनले जोड दिए।

समाजवादी उत्पादन अभियान चलाउने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनबाट त्यसको सश्लेषण गरिने विश्वास दिलाए।

प्रकाशित मिति: १७:४५ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्