भूमिहीन सुकुम्बासी र लालपुर्जाविहीन स्वबासीको समस्या समाधान गर्छाैं : मन्त्री श्रेष्ठ
भक्तपुर, मंसिर ११ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुससम्ममा भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताएकी छन्। माओवादी...
भक्तपुर, मंसिर ११ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुससम्ममा भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताएकी छन्।
माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको आज उद्घाटन गर्दै उनले यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या सधैंका लागि अन्त्य गर्ने गरी समाधान गर्ने बताएकी हुन्।
मन्त्री श्रेष्ठले भनिन्, ‘२०२१ सालको नापीमा छुटेका, त्यसअघिदेखि आफ्नै जग्गाको भोगचलन गरेर आएका तर हातमा लालपुर्जा नभएका भूमिहीन धेरै रहेछन्, कतिपय सुकुम्बासीको समस्या यथावतै रहेछ, उपत्यकाभित्रका लालपूर्जाविहीन स्वबासीको समस्या पनि उस्तै रहेछ, यी समस्या समाधान गर्दैछु, पुस महिनाभित्र देशमा कोही पनि भूमिहीन नरहने गरी समस्या समाधान गर्ने गरी लागेको छु।’
अघिल्लो सरकारले गठन गरेको भूमि आयोगले खासै काम नगरेको बताउँदै अब राष्ट्रिय भूमि आयोगले नै काम गरेर गठन आदेशबाटै भए पनि समस्याको समाधान गर्ने उनको भनाइ छ। कानुनले छोरीका नाममा अंशको व्यवस्था गरे पनि त्यसलाई अझै कार्यान्वयनमा नल्याएको भन्दै मन्त्री श्रेष्ठले भनिन्, ‘छोरीको नाममा पनि सम्पत्ति भन्ने कानुनलाई कार्यान्वयनमा ल्याउनेछु, अहिले पनि अंशबन्डा हुँदा मालपोत कार्यालयले छोरी छ कि खोज्दैन, अब आमा, श्रीमती, छोरी पनि अंशियार कायम हुन्छन् र मालपोतले महिलालाई पनि अंशियार हकका आधारमा अंशबन्डा गर्दा छोरी खोज्ने गरी व्यवस्था गराउँछु।’
कानुनको अभावले नभई इमानदारीपूर्वक कार्यान्वयन नगर्दा संविधानले दिएको कतिपय अधिकार नपाएको बताउँदै उनले अब सबैको अधिकार स्थापित हुनेगरी काम गर्ने बताए।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज दिलीप प्रजापतिले माओवादी जनताको अधिकार सुनिश्चित गर्न पछि नपर्ने बताए। माओवादी केन्द्र मध्यपुर नगर संयोजक विजय श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेताहरु डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, कृष्णलाल गोजा श्रेष्ठ, प्रदीप जामुन श्रेष्ठलगायतले आगामी निर्वाचनमा माओवादीको वर्चस्व रहेन गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।











