होटल सेभेन स्टारमा एमाले महाधिवेशनको बन्दसत्र सुरु
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको हलमा बन्द सत्र शुरु भएको हो...
काठमाडौं, मंसिर ११ः नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारको हलमा बन्द सत्र शुरु भएको हो । बिहान ८ बजेदेखि हुने भनिएको बन्दसत्र ढिला गरि सुरु भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली केहीबेर अघि मात्रै बन्दसत्रस्थल पुगेका छन्। उनी पुगेपछि महाधिवेशन प्रतिनिधिहरु पनि बन्दसत्र हुने हलभित्र प्रवेश गर्न थालेका छन्।
बन्दसत्रको उद्घाटन सत्रमा विभिन्न देशबाट आएका राजनीतिक दलका प्रतिनिधिहरुले सम्बोधन गर्नेछन्। त्यस्तै शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु पनि अनुमोदन गरिने छ।
शुक्रबारको केन्द्रीय कमिटी बैठकले पार्टीको केन्द्रीय पदाधिकारीको संख्या बढाउने निर्णय गरेको थियो। त्यस्तै पोलिटब्यूरोलाई ब्यूँताउदै केन्द्रीय कमिटीको संख्या पनि बढाउने निर्णय गरेको थियो।
पार्टीको पदाधिकारीमा आकांक्षीहरु बढेपछि ओलीले सहमति खोज्नका लागि पदाधिकारी संख्या बढाउने प्रस्ताव गरेका हुन् । १० बूँदे पक्ष पूर्वमाओवादी पक्षधरलाई पनि सहमतिमै समेटेर लैजानका लागि केन्द्रीय कमिटीले सो निर्णय गरेको हो।
बन्दसत्र सकिएपछि निर्वाचन सुरु हुनेछ।











