Kathmandu Press

एकता कायम राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि हो : सहमहामन्त्री महत

एकता कायम राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि हो : सहमहामन्त्री महत

काठमाडाैं, मंसिर १० : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मुलुकमा कम्युनिष्ट पार्टी र अन्य पार्टी विभाजित भइरहेको समयमा कांग्रेसलाई एकताबद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताएको छ।

कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको उद्घाटनमा आज उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाएको बताए।

पार्टीको भातृ सङ्गठन र विभागको गठनमा विलम्ब नगरौँ, सहमति नजुटे बहुमतबाट जाऔं भनेर सल्लाह आउँदा सभापति देउवाले भन्नुभएको जवाफ स्मरण गर्दै उनले भने, ‘सभापतिले कम्युनिष्टको गतिविधि मैले हेरिरहेको छु। चुनावमा बहुमत ल्याए। अहङ्कार बढ्यो। विभाजित भए। म कुनै हालतमा पार्टी एक ढिक्का राख्छु। सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउछु भन्नुभयो। कुनै निर्णय आफूखुशी लाद्नुभएन।’

सहमहामन्त्री डा. महतले पार्टीको १४औं महाधिवेशन अत्यन्त उत्साहजनकरूपमा भइरहेको बताउँदै पार्टीको क्रियाशील सदस्यता सङ्ख्या पनि दोब्बर भएको पनि उल्लेख गरे। उनले यसपटक पार्टीको विधान पनि नेपालको संविधानसँग तादात्म्य हुने गरी बनाइएकाले पार्टीका तल्लो तहदेखि नै अझ बढी समावेशी भएको र महिला, जनजाति, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिर्दै आएको बताए।

उनले महाधिवेशनका क्रममा नेता कार्यकर्तामा देखिएको उत्साह र आएको ऊर्जालाई ठूलो शक्तिको रुपमा ब्याख्या गर्दै यसलाई पार्टीका नेता र कार्यकर्तामात्र हैन, शुभेच्छुक, पर्यवेक्षक र आमनागरिकले अत्यन्त उत्सकुतापूर्वक सकारात्मक रुपमा हेरिरहेको बताए। उनले भने, ‘यो ऊर्जा र उत्साह कम्तीमा आउने आमनिर्वाचनसम्म रहनुपर्दछ।’

उनले महाधिवेशनको क्रममा भएको आन्तरिक प्रतिस्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने बताए। सहमहामन्त्री डा. महतले कांग्रेसले क्रान्ति गर्ने, आन्दोलन गर्ने, संविधान बनाउने, संविधान कार्यान्वयन गर्ने र संविधानको परिधिभित्र रहेर देशको भौतिक पूर्वाधार तथा आर्थिक–सामाजिक विकासमा ऐतिहासिक काम गरे पनि त्यसलाई प्रचार गर्न नसकेको धारणा व्यक्त गरे। 

प्रकाशित मिति: १८:२५ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्