Kathmandu Press

प्रधानमन्त्री देउवासँग बार पदाधिकारीको छलफल

काठमाडौं, मंसिर १० : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच शुक्रबार भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बारका पदाधिकारीले न्यायपालिकाका...
प्रधानमन्त्री देउवासँग बार पदाधिकारीको छलफल

काठमाडौं, मंसिर १० : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच शुक्रबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा आफूहरुले गरिरहेको आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी गराए।

प्रधानमन्त्रीसँगको छ्लफलका लागि बार अध्यक्ष श्रेष्ठका साथै पूर्वसभामुख दमननाथ ढुंगाना, बारका पूर्वअध्यक्ष शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान श्रेष्ठलगायत १७ जनाको सहभागिता रहेको थियो।

बारले प्रधानमन्त्रीलाई प्रधानन्यायाधीशले न्याय सम्पादन गर्न नसकेको र २० हजार कानुन व्यवसायी प्रधानन्यायाधीशले डाकेको बेन्चमा नजानेबारे जानकारी गराएको बताइएको छ।

प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतमा देखिएको समस्याबारे आफ्नो ध्यानाकर्षण भएको र त्यसबारे सत्ता गठबन्धनको बैठकमा गम्भीरतापूर्वक छलफल गर्ने बताएका थिए।

प्रधानमन्त्री देउवाले उक्त विषयमा सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक÷दुई दिनमा नै निकासको लागि दृष्टिकोण सार्वजनिक गर्ने बताएका थिए।

उनीहरुले प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसदमा प्रतिनिधित्व गर्ने दलहरुले निर्वाह गर्नुपर्ने भूमिका र सर्वोच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा आफ्ना धारणा राखेका थिए।

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्