एमाले महाधिवेशनः एआइजीको नेतृत्वमा २२ सय सुरक्षाकर्मी परिचालन हुँदै
काठमाडौं, मंसिर १०ः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै छ। चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन समारोहलाई अध्यक्ष...
काठमाडौं, मंसिर १०ः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै छ। चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।
उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले पनि सम्बोधन गर्ने भएका छन्। त्यसका लागि प्रधानमन्त्री देउवा चितवन जाँदैछन्।
महाधिवेशनका लागि विभिन्न जिल्लाबाट नेता कार्याकर्ताहरु चितवन पुगिसकेका छन्। गोरखा, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट , काठमाडौँ लगायत विभिन्न जिल्लाहरुबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरु महाधिवेशनस्थ पुगिसकेका छन् । महाधिवेशन स्थलमा बिहानैदेखि नेता कार्यकर्ताहरुको चहलपहल बढेको छ।
महाविधेशन समारोहमा नेकपा एमालेले पाँच लाखभन्दा बढी कार्यकर्ता उतार्ने दाबी गरेको छ । देशका भीभीआइपीहरु सहित ठूलो संख्यामा कार्यकर्ताहरु उपस्थित हुने कारण चितवनको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम प्रकाश अधिकारीले २ हजार देखि २२ सय सम्म प्रहरी परिचालन हुने काठमान्डौ प्रेसलाई जानकारी दिए ।
महाधिवेशनमा सुरक्षाका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुल थापाको नेतृत्वमा प्रहरीहरु परिचालन हुने छन् । उनी बिहीबार नै चितवन पुगिसकेका छन्।
सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रहरी हेडक्वार्टरबाट आवश्यकताअनुसार सुरक्षाकर्मी बोलाइएको एसपी अधिकारीले जानकारी दिए।











