Kathmandu Press

आर्थिक अनुशासन कायम राख्ने काममा महालेखाको भूमिका महत्वपूर्ण ः राष्ट्रपति भण्डारी

काठमाडौं, मंसिर ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकका सेवाका लागि स्थापना भएका सरकारी निकायमा आर्थिक अनुशासनमा कमी हुन थालेका प्रति चिन्ता व्यक्त गरेकी छन्।...
आर्थिक अनुशासन कायम राख्ने काममा महालेखाको भूमिका महत्वपूर्ण ः राष्ट्रपति भण्डारी

काठमाडौं, मंसिर ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकका सेवाका लागि स्थापना भएका सरकारी निकायमा आर्थिक अनुशासनमा कमी हुन थालेका प्रति चिन्ता व्यक्त गरेकी छन्। महालेखापरीक्षको कार्यालय भवनको उद्घाटन गर्दै उनले आर्थिक अनुशासन कायम राख्ने काममा महालेखाको भूमिका महत्वपूर्ण हुने बताइन्। 

चाणक्यको अर्थशास्त्रमा लेखिएको ‘अथ अर्थानुशासनम’ पदावलीको सापटी लिँदै राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन पालना गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको उत्तिकै भूमिका रहने स्पष्ट पारिन्।

नियन्त्रणको प्रयास भइरहँदा समेत प्रत्येक वर्ष बेरुजु बढ्नु चुनौतीको विषय रहेको उल्लेख गर्दै उनले कसरी त्यसको फर्छ्योट गर्ने भन्ने सवालको जवाफ खोज्नुपर्नेमा जोड दिए। व्यापार घाटा बढ्दै गएकामा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गिरन्।

निर्यातको तुलनामा आयातको मात्रा बढ्दै गएकाले व्यापार घाटा चुलिएको तथा कृषि उपजमा परनिर्भर बढ्नु चिन्ताको विषय भएको उनको भनाइ छ।

जैविक इन्धनको आयात बढ्दै जानुले व्यापार घाटाको मात्रामा वृद्धि भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विद्युतीय सवारीसाधनको प्रयोग बढाउनेतर्फ ध्यान दिन आग्रह गरे।

आत्मनिर्भर र स्वाधिन अर्थतन्त्रको निर्माणका लागि जनताको उद्यमशीलताको विकास गर्न महालेखापरीक्षकको कार्यालयले भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।

संवैधानिक भूमिकाअनुसार मुलुकको आर्थिक अनुशासनको परिपालना गराउन महालेखाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सूचना र प्रविधिमा आधारित लेखापरीक्षण प्रणाली लागू गर्न लागेकामा प्रशन्नता व्यक्त गरिन्।

सङ्घीयताको कार्यान्वयनपछि महालेखाको क्षेत्राधिकार विस्तार भएको तथ्य पेस गर्दै उनले नागरिकले थोपा–थोपा जम्मा गरेको अर्थकोे सही सदुपयोग भयो कि भएन हेर्ने दायित्व पूरा गर्न महालेखालाई आग्रह गरिन्।

महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले २०७२ सालमा गएको भूकम्पका कारण बबरमहलस्थित मुख्य भवनमा क्षति पुग्दा काम गर्ने वातावरणमा असर परेको भन्दै नयाँ भवनको निर्माणपछि कर्मचारीको मनोबल बढ्ने विश्वास व्यक्त गरे। वार्षिकरूपमा  रु एक खर्बभन्दा बढी बेरुजु देखिनु र त्यो बढ्दै गएर रु ६ खर्ब ७६ अर्ब पुगेको तथ्याङ्क पेश गर्दै उहाँले आर्थिक अनुशासन पालना गर्न सबैको उत्तिकै भूमिका रहने स्पष्ट पारे।

सबै सरकारी कार्यालयको लेखापरीक्षणलाई थप पारदर्शी, व्यावसायिक र विश्वसनीय बनाउन आफूहरुले अहोरात्र प्रयास गरिरहेको दङ्गालको भनाइ छ । छिट्टै सातै प्रदेशमा महालेखाको कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले सरकारी लेखापरीक्षणलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

भवन निर्माणमा संलग्न सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, निर्माण व्यवसायीलगायतलाई दंगालले धन्यवाद दिए।

लोकसेवा आयोग र काठमाडौं उपत्यका विकास प्राधिकरणसँगै अनामनगरस्थित महालेखापरीक्षकको नवनिर्मित भवन कुल सात रोपनी क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित मिति: १७:१२ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्