समाज रूपान्तरणको आधार सहकारी : उपराष्ट्रपति पुन
काठमाडाैं, मंसिर ८ : उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समाज रूपान्तरणको मुख्य आधार सहकारी रहेको बताएका छन्। ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा...
काठमाडाैं, मंसिर ८ : उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समाज रूपान्तरणको मुख्य आधार सहकारी रहेको बताएका छन्। ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा आज यहाँ आयोजित चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम रहेको बताएका हुन्।
उपराष्ट्रपति पुनले सहकारीमार्फत अधिकतम पूँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक रहको बताए। पछिल्लो समय सहकारीमा विकृति, विसङ्गति भित्रिएको भन्दै निराकरणका लागि राज्य चनाखो हुनुपर्ने पनि उनले जोड दिए। 'सहकारीलाई जिम्मेवार बनाउन सङ्घको भूमिका प्रभावकारी हुनुपर्छ,' उनले भने, 'सहकारीमा विकृति रोक्न नियमन तथा अनुगमनको आवश्यक छ।'
कार्यक्रममा जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालले सहकारी समाजवादको आधार भएको बताइन। सहकारी क्षेत्रले निक्षेप पनि बढी लिएर कर्जा पनि बढी लिएको भन्दै मन्त्री भुसालले अब उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउन आवश्यक भएको उनको सुझाव थियो। कृषिमा ६८ प्रतिशत जनता आश्रित भए पनि बर्सेनि दुई खर्बभन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुःखद् भएको मन्त्री भुसालको भनाइ थियो।
सोही क्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिपरेको बताए। राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले तीन खम्बे अर्थनीतिमा सहकारीलाई अब्बल बनाउन आवश्यक भएकोमा जोड दिए।
हाल ३० हजार सहकारीमध्ये १४ हजार सहकारी बचत तथा ऋणको रहेको उनले जानकारी दिए। ठूलो हिस्सा बचतमै भएकाले अब उत्पादनमा जोड दिने गरी सहकारीले लगानी गर्नुपर्ने अध्यक्ष कँडेलकोे भनाइ थियो।











