Kathmandu Press

हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडाैं, मंसिर ८ : अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उनले समाजवादको...
हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडाैं, मंसिर ८ : अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उनले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन्।

‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्‍यो। विद्यालय उद्योग हुनुपर्‍यो,’ मन्त्री शर्माले भने, ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुपर्‍यो।’ उनले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताए।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने उल्लेख गर्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताए। यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उनको भनाइ छ।

सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उनले बताए। ‘विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ,’ उनले भने, ‘त्यस्तै किसिमको अरू सामुदायिक पूँजी निर्माण गर्ने समूह/समुदाय बनाउनुपर्छ।’

मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्नेमा जोड दिए। उनले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउँदै भने, ‘अब ठूलो/मेगा विद्यालय बनाउनुपर्छ र त्यही शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ।’ उनले एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रीकृत गर्नुपर्ने उनको भनाइ छ।

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री शर्माले पार्टीले ‘प्रचण्डपथ’ त्यागेर ठूलो गल्ती गरेको बताए। प्रचण्डपथ त्यागेकै कारण पार्टी विचलित र फुटको स्थितिमा पुगेको बताए। ‘शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई निर्णय गरेर हटायौं,’ उनले भने, ‘त्यो ठूलो गल्ती थियो। मैले त्यतिबेला नै यो गल्ती हुँदैछ भनेको थिएँ।’

प्रचण्डपथले नै त्याग, बलिदान, विचार तथा संगठनलाई केन्द्रीकरण गरेको बताउँदै उनले त्यो त्याग्नासाथ पार्टीमा विभाजन भएको बताए।

प्रकाशित मिति: १७:१७ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्