सूर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु : मन्त्री खतिवडा

काठमाडौं, मंसिर ८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सुर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उनले कुनै उपाय अपनाएर भए पनि सुर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने जानकारी दिए।
उनले मूल्यअभिवृद्धि कर बढाएर र सूर्तीजन्य पदार्थको बट्टामा चित्र राखेर सेवनमा नियन्त्रण गर्न खोजे पनि प्रभावकारी नभएको जनाउँदै चिकित्सकले कुनै डर सिर्जना गरेर सेवनलाई निरुत्साहित गर्नुपर्ने बताए। उनले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्ने जानकारी दिए।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सूर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सूर्तीजन्य बनेका ऐन, कानुनलाई कडाइका साथ लागू गर्नुपर्ने बताए। परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले सूर्तीजन्य सेवनबाट बर्सेनि हजारौं मानिसको अकालमा नै मृत्यु हुने गरेको बताए।
उनले सबैको सहयोगबाट सूर्तीजन्य पदार्थको सेवन रोकथाम र नियन्त्रण गर्नुपर्ने बताए। सहिद गंगालाल हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवनबाट धेरैनै मानिसलाई हृदयाघात हुने गरेको बताए।
उहाँका अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको छन्।











