एमाले महाधिवेशन : हरेक र्याली र बन्दसत्रभरि एम्बुलेन्स राखिने, २५० जना स्वास्थ्यकर्मी परिचालन
चितवन, मंसिर ८ : एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा सुरु हुँदैछ।१० गते शुक्रबार हुने महाधिवेशन उद्घाटन सत्र सुरु...
चितवन, मंसिर ८ : एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा सुरु हुँदैछ।
१० गते शुक्रबार हुने महाधिवेशन उद्घाटन सत्र सुरु हुनुअघि नवलपुरको गैंडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोक सहितबाट र्याली निकाल्ने तयारी भइरहेको छ।
सम्भावित दुर्घटनालाई मध्यनजर गरी हरेक र्यालीमा एउटा एम्बुलेन्स राखिने गरी काम भइरहेको एमालेको स्वास्थ्य व्यवस्थापन समितिले जनाएको छ। हरेक एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिमप्राप्त स्वयंसेवक पनि परिचालन गरिनेछ।
महाधिवेशन उद्घाटन हुने स्थानमा भिआईपी र भिभिआईपीलाई लक्षित गर्दै दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पनि बताइएको छ। समितिका अनुसार बन्दसत्र हुने स्थान सौराहामा पनि एम्बुलेन्स परिचालन गरिनेछ।
एम्बुलेन्स सेवा निःशुल्क रूपमा व्यवस्था गरिएको जनाइएको छ। बन्दसत्रमा बिरामी भएका प्रतिनिधिहरूलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने गरी सहमति गरिएको समितिको भनाइ छ।
महाधिवेशनमा सबै विषयका विज्ञ चिकित्सकसहित २५० स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन हुने र उनीहरूबाट उपचार सम्भव नभएकाले भरतपुरको मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने गरी सहमति भएको बताइएको छ।











