Kathmandu Press

सभापति देउवाद्वारा ‘कांग्रेसको अबको बाटो’ विमोचन

काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘कांग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ।नेपालको सबैभन्दा पुरानो...
सभापति देउवाद्वारा ‘कांग्रेसको अबको बाटो’ विमोचन

काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘कांग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ।

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको आज कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन्। 

सो अवसरमा प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा विमोचन गरिएको उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने बताए। ‘पार्टीको १४औँ महाधिवेशनमा यो पुस्तक कांग्रेसका लागि प्रेरणाको स्रोत बन्न सक्छ,’ उनले भने।

सभापति देउवाले डा सङ्ग्रौला पार्टीभित्र महिला अधिकारका लागि लड्ने सशक्त महिला भएको उल्लेख गर्दै पुस्तकको थप सफलताको शुभकामना व्यक्त गरिन्। 

पुस्तकका लेखिका डा सङ्ग्रौलाले १४औं महाविधेशनमा पार्टीभित्र व्यापक बहस र छलफल जरुरी रहेको बताइन्। ‘पार्टी रुपान्तरण र महिला सशक्तीकरणका लागि पुस्तकमार्फत अठोट लिएको छु,’ उनले भनिन्। 

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले कांग्रेसका लागि आगामी बाटो चुनौतीपूर्ण रहेको भन्दै नेतृत्वले ती चुनौती चिर्दै अगाडि बढ्नुपर्ने बताए। कांग्रेस बलियो बने मुलुकको विकास हुने उनको भनाइ थियो। 

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा उद्धव खरेलले पुस्तकमार्फत इतिहासको जगमा भविष्यको कांग्रेस खोजी गरिएको बताए। ‘पुस्तकमा बिपीको चिन्तनअनुसार कांग्रेसको धरातल प्रस्तुत गरिएको छ,’ उनले भने, ‘कांग्रेस जान्न र बुझ्न खोज्नेहरुका लागि पुस्तक उपयोगी हुनेछ।’

पुस्तकमा नेपाली कांग्रेसको संक्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, उपलब्धिहरु, अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको कांग्रेस, अमूल्य योगदानका अग्रज र १४औँ महाधिवेशनका एजेन्डाहरु प्रस्तुत गरिएको छ। 

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्