Kathmandu Press

माओवादी घटकको एकता अनिवार्य छ : मन्त्री पौडेल

माओवादी घटकको एकता अनिवार्य छ : मन्त्री पौडेल

काठमाडाैं, मंसिर ७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको समृद्धिका लागि पूर्वमाओवादीबीच ध्रुवीकरण हुनुपर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा माओवादीलाई पहिलो शक्तिका रुपमा स्थापित गराउन माओवादी घटकबीच एकता अनिवार्य रहेको बताए। 

'निराशा र कुण्ठा हटाउँदै नयाँ ऊर्जाका साथ समाजवादी क्रान्तिलाई अगाडि बढाउन नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ,' उनले भने। प्रविधि सुहाउँदो पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा कलम चलाउन आग्रह गरे।

प्रेस सेन्टर नेपालका निवर्तमान उपाध्यक्ष बलराम थापाले पत्रकारले जनताको विषयलाई उठाउनुपर्ने बताए। सेन्टरका निवर्तमान उपाध्यक्ष सचिन रोकाले पत्रकारितालाई बलियो बनाउन पत्रकारको क्षमता अभिवृद्धि गरिनुपर्ने बताए। 

यसैबीच, तेस्रो अधिवेशनबाट प्रतिष्ठान प्रदेशको अध्यक्षमा वीरेन्द्र वली सर्वसम्मति चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा रघुनाथ बजगाईं, खुल्ला उपाध्यक्षमा शम्भु दङ्गाल, समावेशी उपाध्यक्षमा छत्रबहादुर श्रेष्ठ, प्रमुख सचिवमा तुलसी सापकोटा, सचिव खुलामा अशोक घिमिरे, विमल खड्का, विजय फुयाँल, जनजाति सचिवमा विवेक लोप्चन, महिला सचिवमा पार्वती खड्का, मधेसी सचिवमा विजय यादव, दलित सचिवमा लक्ष्मण दर्नाल र कोषाध्यक्षमा रामचन्द्र बस्नेत चयन भएका छन्। 

प्रकाशित मिति: १८:४१ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्