शिक्षामन्त्री र जर्मनका राजदूतबीच भेटवार्ता
काठमाडौं, मंसिर ७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ।मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा विज्ञान...
काठमाडौं, मंसिर ७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ।
मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नवीकरणीय ऊर्जाको विकास एवं उत्पादनको विषयमा छलफल भएको छ।
सो अवसरमा मन्त्री पौडेलले नेपाल र जर्मनबीच १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको र सन् २००६ मा नेपालमा राजदूतावास खुले यता द्विपक्षीय सम्बन्ध सदा उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै प्राविधिक र आर्थिक क्षेत्रमा सहयोग गर्न अपिल गरे।
उनले नेपालमा संघीयता कार्यान्वयनमा आएपछि राष्ट्रिय शिक्षा नीतिमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरलाई व्यापक विस्तार गरी नागरिकलाई समावेशी एवं समतामूलक ढंगबाट पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, सीपयुक्त र उद्यमशील जनशक्ति तयार गरी समृद्ध नेपाल विकासमा योगदान गर्ने उद्देश्य राखिएको जानकारी गराए।
उनले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा जर्मनी सरकारलाई सहयोगका लागि आग्रह गरे।
जर्मनका राजदूत प्रिन्जले नेपालका विद्यार्थीले जर्मनमा निःशुल्क शिक्षा लिइरहेको बताउँदै भविष्यमा पनि यसको निरन्तरता हुने बताए।
उनले नवीकरणीय ऊर्जा, विज्ञान तथा प्रविधिमा आधारित शिक्षा आदानप्रदानलगायतका विषयमा नेपालसँग सहकार्य र सहयोग गर्न इच्छुक रहेको बताए।











