नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं, मंसिर ७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ। सोमबार झिनो अंकले सुधार भएको नेप्से परिसूचक...
काठमाडौं, मंसिर ७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ। सोमबार झिनो अंकले सुधार भएको नेप्से परिसूचक मंगलबार ३२.२९ अङ्कले घटी दुई हजार ७३३.१४ मा ओर्लेको हो।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले घटेर ५१५.४८ मा सीमित भएको छ। नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कुल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर रु. चार अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ मूल्यम खरिद बिक्री भए।
कारोबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै १९.९३ अङ्कले उकालो लाग्यो। यस्तै, बैंकिङ १५.४, व्यापार ४५.५१, होटल तथा पर्यटन ९३.५५, विकास बैंक ११९.९८, जलविद्युत् ७५.४४, वित्त ८८.७, निर्जीवन बीमा २०१.५, उत्पादन १०१.०५, लघुवित्त ५६.०४, जीवन बीमा १८९.५२, सामूहिक लगानीकोष ०.०७ र लगानी १.३४ अङ्कले घटेको छ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४१ करोड ५७ लाख २४ हजार ६३ बराबरको कारोबार भयो। नेसनल हाइड्रोपावर १२ करोड २१ लाख २४ हजार ७८१ र महालक्ष्मी विकास बैंक १० करोड ४२ लाख ७१ हजार ५६८, अपि पावर कम्पनी रु १० करोड ३३ लाख ५६ हजार र अरुण काबेली पावर रु नौ करोड ७० लाख ५३ हजार ३३२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
मंगलबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३५ अर्ब ८८ करोड २० लाख ४४ हजार १८ बराबर भएको छ। नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, दूरसञ्चार कम्पनी २.५९, गणपति लघुवित्त २.४९, सामुदायिक लघुवित्त १.९६ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले १.९१ प्रतिशतले कमाए।
त्यस्तै, आइसिएफसी फाइनान्स ५.८४, एनआइबिएल प्रगति फण्ड ५.२५, नारायणी डेभलपमेन्ट बैंक ५.१६, गुडविल फाइनान्स ४.९४ र सिङ्गटी हाइड्रोपावरका लगानीकर्ताले ४.७८ प्रतिशतले गुमाए।











