ग्रामीण स्वास्थ्य सेवा दिन पहल गर्ने एनसेललालाई विट्सा र एसोसिओ अवार्ड

काठमाडौं, मंसिर ७ : एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायहलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसिओ अवार्ड २०२१ जित्न सफल भएको हो।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले गत शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेस समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तान्तरण गरेका थिए। वल्र्ड इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (एसोसिओ) मा क्यान महासंघले नेपालको प्रतिनिधित्व गर्दछ।
विट्सा ग्लोबल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो। एनसेलले यो अवार्ड मेरिट विनरका रूपमा ई–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर÷एनजिओ) विधाअन्तर्गत जितेको हो।
त्यस्तै गत कात्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वल्र्ड कङ्ग्रेस अन इन्फरमेसन एन्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसिओ अवार्ड जितेको घोषणा गरिएको थियो। यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरु एसोसीओ अवार्डबाट सम्मानित भएका थिए।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायहरुलाई उनीहरुको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको थियो। यो कार्यक्रम धुलिखेल अस्पतालअन्तर्गतका विभिन्न ग्रामीण भेगका चार स्वास्थ्य केन्द्रहरूमा लागु गरि सकिएको छ। यस कार्यक्रमअन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन्।
‘हाम्रो सामाजिक जिम्मेवारीअन्तर्गत सुरु गरिएको स्वास्थ्यसम्बन्धी यस नवीन कार्यक्रमले प्रतिष्ठित विट्सा र एसोसीओ अवार्ड जित्न सफल भएकोमा हामी निकै खुसी छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘यस पहलले दूरदराजका जनसमुदायको जीवनरक्षा गर्न मद्दत गर्नुका साथै आफ्नै ठाउँमा नै सेवा उपलब्ध हुने भएकाले सहरका अस्पतालमा जाँदा लाग्ने समय र स्रोत बचत गर्नमा योगदान गर्दछ। यो कार्यक्रमले १५ हजारभन्दा बढी घरधुरीका जनसमुदायलाई दीर्घ रोग, नसर्ने रोग, सरुवा रोगलगायत रोगहरुको उपचार सेवामा प्रतक्ष्य योगदान गर्दछ।’
यस्तै धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, ‘एनसेलसँगको हाम्रो यस सहकार्यले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु ठूलो सम्मान हो। जनसमुदायलाई सजिलै गुणस्तरीय स्वास्थ्य सेवामा पहँुच सुनिश्चित गर्न यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने हाम्रो योजना रहेको छ।’
टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिएको चारवटा स्वास्थ्य केन्द्र सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा सञ्चालन भइरहेको छ। यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पिएचपी) गरी दुई क्षेत्रमा केन्द्रित रहेको छ।
टेलिमेडिसिनअन्तर्गत आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरी अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क स्थापित गराई स्थानीय जनसमुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान दिइन्छ । पिएचपीअन्तर्गत यो कार्यक्रम सञ्चालन भएका क्षेत्रका समुदायका स्थानीयहरुले पर्सनलाईज्ड स्वास्थ्य सेवा पाउनेछन्, जसका लागि स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानीय मानिसहरुको स्वास्थ्यसम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार स्थानीय ठाउँमा नै गर्नेछन्।













