दलित समुदायका पत्रकारहरूको क्षमतामा विकास गर्न सञ्चारकर्मीहरुको माग

काठमाडौं, मंसिर ६ : दलित समुदायका पत्रकारहरूले आफूहरूको क्षमता विकासका लागि विविध कार्यक्रम ल्याउन माग गरेका छन् ।
नेपाल पत्रकार महासंघले काठमाडौंमा गरेको ‘दलित समुदायका पत्रकारको अवस्था र महासंघको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला निकायका प्रमुख र पत्रकारहरूले अब आमसञ्चार माध्यमहरूले चार हजार वर्षदेखि उत्पीडनमा रहेको दलित समुदायका कथा व्यथा बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको औंल्याए । उनीहरूले दलित समुदायकै पत्रकारको क्षमता विकास गराउन नसके त्यो समुदायका कथा व्यथा सञ्चारमाध्यमसम्म पुर्याउनै नसकिने भन्दै त्यस्तो माग गरेका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै त्यसको मुक्तिका लागि अक्षरमार्फत अघि बढ्न पत्रकारहरुलाई आग्रह गरे । ‘दलित समुदाय चार हजार वर्षदेखि उत्पीडनमा छ, यसको मुक्ति यति सहजै सम्भव छैन,’ उनले भने, ‘यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । हरेक दलितसँग अलग–अलग कथा छन्, त्यस्ता कथाव्यथाहरू बाहिर ल्याइनुपर्छ । तपाईहरूको कलमले दलितका त्यस्ता कथा व्यथालाई सार्वजनिक गर्नुपर्छ ।’
अध्यक्ष विश्वकर्माले नेपालमा संविधान र कानूनले जातीय विभेद र छुवाछुतलाई निषेध गरेपनि समाजमा अझै त्यस्तो विभेद व्याप्त भएकोमा दुःख व्यक्त गरे । ‘समाजका बुज्रुकहरू नै यो एकैपटक परिवर्तन हुदैन, क्रमश हुन्छ भन्ने गर्छन् । तर, त्यो विस्तार भनेको कहिले हो ? यो मानसिकतालाई हामीले कसरी फेर्ने ? यसबारे आमसञ्चार माध्यमले धारणा बनाउनुपर्छ,’ अध्यक्ष विश्वकर्माले भने । उनले पछिल्ला वर्षहरूमा दलित समुदायले विभिन्न अधिकारहरू पाएपनि दलितहरूमाथि हुने हिंसा भने बढ्दै गएकोप्रति ध्यानाकर्षण गराए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रकी नेतृ अञ्जना विशंखेले दलित पत्रकारका समस्या समाधानका लागि सबै पत्रकारहरु एकजुट भएर अघि बढ्न आग्रह गरिन् । उनले पछिल्लो समय राजनीतिक दल, संसद, सरकार र अन्य विभिन्न निकायमा दलित सहभागिता वृद्धि भएपनि दलित समुदायको मुक्तिको मुद्धा भने त्यसरी उठ्न नसकेको बताइन् ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले दलित समुदायका पत्रकारको क्षमता विकास र उन्नयनका लागि महासंघ प्रतिवद्ध भएको बताए । उनले महासंघले पत्रकार र सञ्चार माध्यममा समावेशिता र सहभागिताको कुरा मात्रै नउठाउने भन्दै समाजमा जकडिएर रहेको जातीय विभेद र छुवाछुतको अन्त्यकै लागि विशेष लिन सक्ने बताए । उनले महासंघले आफ्नो संगठनमा दलित सहभागितालाई ध्यान दिएको भन्दै पत्रकारहरूको क्षमता विकासका लागि काम गर्ने प्रतिबद्धता पनि जनाए ।

महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले दलित पत्रकारको समस्या पहिचान गरी समस्या समाधान गर्न सम्बन्धित संघ संस्थासँगको अन्तरक्रियाखमार्फत अघि बढ्ने बताए । महासंघका पूर्वकेन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अझैपनि सञ्चारगृहमा दलित पत्रकारको समानुपातिक सहभागिता हुन नसकेको बताए । ‘पत्रकारको नाम सुन्ने बित्तिकै ऊमाथि गर्ने व्यवहार फरक पर्छ, पत्रकारले पनि विभेद खेपिरहेका छन्,’ उनले भने, ‘मुलधारका सञ्चार माध्यमले नै दलित समुदायका पत्रकारलाई स्थान दिएका छैनन् । त्यो समुदायको मुद्धालाई कति लेख्छन् ? हामीले देखेकै छौँ ।’
कार्यक्रममा बोल्दै पत्रकार बाबुराम विश्वकर्माले पत्रकारितामा पनि राज्यसत्ताको धङ्धङ्गी रहेको बताए । उनले दलितमाथि हुने गरेको विभेद र हिंसाका घटनालाई राज्यले गम्भीर मुद्दाका रुपमा नलिने गरेको भन्दै सञ्चार माध्यमको चरित्र पनि त्यस्तै रहेको बताए । ‘अहिले पनि हामी जातीय हिंसा सहिरहेका छौँ । त्यो पत्रकारले होस्, वा नेताले होस् । आमरुपमा हाम्रो भोगाई उही छ,’ उनले भने, ‘मिडिया पनि त्यो समाजभन्दा अलग छैनन् । मिडियामा त्यस्तै हालत छ ।’ यस्तै लेखक तथा अध्येता जेबी विश्वकर्माले दलित समुदायकाले सञ्चार माध्यमभित्रै विभेद खेपिरहेका बताए । ‘मिडियामा दलितमाथिको संरचनागत विभेदको कायम छ । दलितमाथिको अत्याचारका घटनामा मिडियाको भूमिका कमजोर छ,’ उनले भने ।
महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले महासंघले दलित समुदायका पत्रकारहरूको चौतर्फी विकास र सहभागितालाई ध्यानमा राखेर काम गर्ने बताए । उनले अहिले विभिन्न चरणका छलफलबाट समुदायका पत्रकारहरूका समस्याको पहिचान गरी तिनको समाधानका लागि महासंघ मार्फत् पहल गर्ने समेत बताए ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नाल, क्रियाशील दलित पत्रकार संघका पवित्रा सुनार, जागरण मिडियो सेण्टरका महासचिव भीम घिमिरे लगायतले सञ्चारको क्षेत्रमा इतिहासमा कुटुवाल प्रथादेखि हालसम्म दलितहरुको महत्वपूर्ण भूमिका हुँदा पनि त्यसको कदर हुन नसकेको बताए ।
कार्यक्रममा दलित समुदायका पत्रकारहरुको अधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु र दलित समुदायका सक्रिय पत्रकारहरुको सहभागीता थियो











