प्रचण्डले भने- भरतपुरको विकासका लागि मन्त्रालयहरूको ध्यानाकर्षण गराउँछु
चितवन, मंसिर ६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। भरतपुर महानगरपालिकाले आज आयोजना गरेको समृद्ध...
चितवन, मंसिर ६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
भरतपुर महानगरपालिकाले आज आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उनले यहाँका महत्वपूर्ण विकासका आयोजनालाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिव र विभागका महानिर्देशकको ध्यानाकर्षण गराएका हुन्।
महानगरको आधाभन्दा बढी भूभाग अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा पर्छ। कार्यक्रममा उनले ८/१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ति ल्याउने बताए। यसलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो। नारायणी नदी तटबन्धन गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै उनले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताए।
भरतपुर महानगरमा भएको विमानस्थल बिस्तारको काम अघि बढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि बढाइएको, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, निस्सा र स्थानान्तरणको प्रक्रिया अघि बढेको, रिङरोड र लिङ्क रोडको काम अघि वढेको भन्दै देशकै नमूनाका रुपमा भरतपुरमा विकास गति लिएको उनको भनाइ थियो ।
आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन र सहयोगका लागि उनले उपस्थित मन्त्री, सचिव र महानिर्देशकसँग अनुरोध गरे। कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसँग जोडेर काम गर्न उनले सुझाव दिए।
देशभरिका जनताको ध्यान चितवनतर्फ आकर्षण भएको भन्दै उहाँले यसका पछि धेरै कारण रहेको बताए। उनले भने, ‘यसभित्र केही लुकेको छ। मलाई थप जिम्मेवारी बढाएको छ।’
फरक प्रसङ्गमा उहाँले वामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पूरा गर्न नसकेको बताए। उनले भने, ‘हिजो देखेको सपना विल्कुल गलत होइन। तोड्नका लागि भित्र र बाहिरी जुनजुन शक्ति लागे बुझ्न जरुरी छ।’











