प्रधानन्यायाधीश हटाउन सहयोगका लागि सभामुखलाई बारको आग्रह
काठमाडौं, मंसिर ६ : नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पद मुक्त गराउन संसदले सघाउनुपर्ने भन्दै साेहीबमाजिम भूमिका खेल्न आग्रह गरेका छन् । आज...
काठमाडौं, मंसिर ६ : नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पद मुक्त गराउन संसदले सघाउनुपर्ने भन्दै साेहीबमाजिम भूमिका खेल्न आग्रह गरेका छन् ।
आज सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित बारका अन्य पदाधिकारीले जबरालाई पदमुक्त गर्न संसदको भूमिका आवश्यक देखिएको भन्दै सोहीबमोजिम सघाउन सभामुख सापकोटालाई सहयोग आग्रह गरेका हुन्।
सडकमा दिइने दबाबका भरमा राजीनामा नदिने अभिव्यक्ति प्रधानन्यायाधीश जबराबाट आएको र आफूहरुको पहलले मात्र जबराले राजीनामा दिने अवस्था नदेखिएपछि बार संसदको सहयोग माग्न सभामुखसम्म पुगेको बताइएको छ।
प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिबद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बारको भनाइ छ। जबराले संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेको आरोप पनि बारले लगाउँदै आएको छ।
बार पदाधिकारीसँगको भेटमा सभामुख सापकोटाले कानुन व्यवसायीले गरिरहेको आन्दोलनमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्ने विश्वास दिलाए।
उनले आफ्नो निष्पक्षता र तटस्थता मुलुकका लागि प्रयोग गर्ने पनि बताएका थिए।











