कर्णालीका मुख्यमन्त्री शाही र प्रधानसेनापति शर्माबीच भेट

सुर्खेत, मंसिर ६ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र प्रधानसेनापति प्रभुराम शर्माबीच भेट भएको छ। मुख्यमन्त्री शाहीसँग प्रधानसेनापति शर्मा नेतृत्वको टोलीले आज भेट गरेको हो।
भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भएगरेका गतिविधिबारे जानकारी गराएका थिए।
आगामी दिनमा प्रदेश सरकारसँग नियमित समन्वयमा रही काम गर्न इच्छुक रहेको विचार व्यक्त गर्दै उनले कर्णाली करिडोरअन्तर्गत सल्लिसल्ला खण्डको सात किलोमिटर चट्टान खण्डको समयमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री शाहीको अनुरोधमा नेपाली सेना हुम्लामा तत्कालका लागि खाद्यान्न ढुवानी गर्नसमेत इच्छुक भएको बताइएको छ। त्यस्तै मुख्यमन्त्री शाहीले रुकुम–सल्यान छिन्चु–जाजरकोट–डोल्पा सडक, कर्णाली राजमार्ग खण्ड, नाग्म–जुम्ला–गमगढी, खुलालु–सल्लिसल्ला सडकखण्ड र विपत् व्यवस्थापनमा भएको नेपालीको सेनाको योगदानको उच्च प्रशंसा गरेका थिए।











