एमाले उपाध्यक्षमा उम्मेदवारी दिने ‘मुड’मा भुसाल
काठमाडौं, मंसिर ६ : एमाले दसौं राष्ट्रिय महाधिवेशन आउन चार दिन बाँकी रहँदा उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी अघि बढाएका छन्।उनले...
काठमाडौं, मंसिर ६ : एमाले दसौं राष्ट्रिय महाधिवेशन आउन चार दिन बाँकी रहँदा उपमहासचिव घनश्याम भुसाल उपाध्यक्षमा उम्मेदवारी दिने ‘मुड’मा देखिएका छन्। उनले साेहीबमाजिम तयारी अघि बढाएकाे स्रोतले जनाएकाे छ।
उनले आफू पक्षीय नेताकार्यकर्तासँग सो पदमा उम्मेदवारी घोषणा गर्ने विषयमा छलफल गरिसकेको स्रोतको भनाइ छ।
भुसालले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग पनि यस विषयमा थप कुराकानी गरिरहेको जनाइएको छ।
अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दिने घोषणा गरिसकेकाले त्यसबाहेकका पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएको र सोहीबमोजिम उनी अघि बढेको स्रोतको भनाइ छ। उपाध्यक्ष रावलले आइतबार मात्र महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।
हाल उपमहासचिव रहेका भुसालले महासचिवमा उम्मेदवारी दिने तयारी गरिरहेको भनी चर्चा चलिरहेका बेला उपाध्यक्ष पनि उनले ताकिरहेको बताइएको छ । तथापि वरिष्ठ उपाध्यक्ष र महानसचिव पदमा पनि उम्मेदवारी दिने सम्भावना रहेको पनि भुसालनिकट स्रोतले जनाएको छ।
सबैको सुझावका आधारमा मंगलबारसम्म कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो लाग्ने भुसालनिकट एक नेताले बताए।
एमालेले आसन्न महाधिवेशनबाट सकेसम्म सर्वसम्मत रूपमै नेतृत्व चयन गरेर एमाल एकजुट रहेको सन्देश दिन चाहिरहेको जनाइएको छ। तर सीमित पदमा असीमित आकांक्षी देखिँदै गएपछि पदाधिकारी व्यवस्थापनमा एमालेलाई निकै सकस हुने देखिएको छ । पदाधिकारी कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर एमालेमा आन्तरिक रूपमा विभिन्न प्रयासहरू भइरहेको बताइन्छ ।
सोही सन्दर्भमा भुसाललाई बालकोटबाट भेटघाटका तारन्तार खरबर आइरहेको पनि बताइएको छ। तर त्यहाँ गएर जयजयकार गर्नुको कुनै सार्थकता नहुने भन्दै भुसालले खासै चासो नदिएको उनी निकट नेताहरूले बताउने गरेका छन्।











