नेपाल एयरलाइन्सले भदौ १२ देखि जापानको ओसाका उडान गर्ने
काठमाडौं, भदौ ३ : नेपाल वायुसेवा निगमले १२ वर्षपछि पुनः जापानको ओसाका उडान गर्ने निश्चित भएको जनाएको छ। निगमले भदौ १२ गते काठमाडौंबाट ओसाका पहिलो....

काठमाडौं, भदौ ३ : नेपाल वायुसेवा निगमले १२ वर्षपछि पुनः जापानको ओसाका उडान गर्ने निश्चित भएको जनाएको छ। निगमले भदौ १२ गते काठमाडौंबाट ओसाका पहिलो उडान गर्नेछ।
निगमले गत वर्ष खरिद गरेको एयरवस ३३०–२०० सिरिजको जहाजमार्फत ओसाका उडान गर्न लागेको हो। असारमै उडान गर्ने तयारी भएपनि टिकट बुकिङ नभएको भन्दै भदौ १२ को नयाँ मिति घोषणा गरिएको थियो। निगमले ओसाकाका लागि सातामा तीन वटा उडान गर्नेछ।
जापान उडान गर्दा नेपाल आउने पर्यटक संख्या बढेको बताउँदै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले उडान बन्द भएपछि पर्यटकको संख्या पनि घटेको बताए। ‘अब फेरि जापानबाट नेपाल आउने पर्यटक बढ्ने छन्,’ खरेलले भने।
ओसाकापछि जापानको नारिताका लागि पनि आवेदन दिएको निगमका कार्यकारी अध्यक्ष खरेलले बताए। निगमले सन् २०२० को जनवरीदेखि नारिता उडान थाल्ने खरेलले जानकारी दिए। पछिल्लो समय नेपाली पनि जापान जाने क्रम बढेकोले निगमले जापान उडानलाई प्राथमिकता दिन लागेको उनको भनाइ छ।
यसपटक पहिलो उडानमा एक सय ५० टिकेट बिक्री हुन सक्ने निगमको अनुमान छ। अन्य उडानमा अझै टिकट बुकिङ नआएको निगमले जनाएको छ। केही उडान गरेपछि अक्टोवरपछि सहज हुने निगमको विश्वास छ।
वाइडवडी जहाजमा दुई सय ७४ सिट क्षमता भएपनि यसपटक पनि ‘फुल अकुपेन्सी’ भने नपाएको निगमले जनाएको छ। ‘पहिलो उडानमा ५० प्रतिशत बुकिङ हुँदा पनि राम्रो हो, पछि सुधार हुन्छ,’ खरेलले भने।
निगमले सन् १९९४ देखि २००७ सम्म ओसाका उडान गरेको थियो। विगतमा बोईङ ७५७ जहाजमार्फत सांघाई ट्रान्जिट राखेर उडान भरको थियो। पछि जहाज अभाव र संचालन खर्च बढेपछि उडान रोक्ने निर्णय गरेको थियो।
गत वर्ष निगमले एयरबस ३३० सिरिजका दुई वटा वाइडबडी जहावरज खरिदपछि पुनः जापान उडानको प्रक्रिया सुरु गरेको हो। वाइडबडी लामो दूरीमा उडान गर्नका लागि ल्याइएको भएपनि गन्तव्य नपाउँदा छोटो दूरीमै उडान गर्दै आएका छन्।










-1754206481.jpg)
