योगगुरु रामदेवलाई पर्यटन दूत बन्न पर्यटनमन्त्री आलेको आग्रह
काठमाडौं, मंसिर ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योगगुरु रामदेवलाई पर्यटन दूत बन्न आग्रह गरेका छन्।उनले आज पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा...काठमाडौं, मंसिर ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योगगुरु रामदेवलाई पर्यटन दूत बन्न आग्रह गरेका छन्।
उनले आज पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आयोजना गरिएको योग शिविरमा बोल्दै भारतीय योग गुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दूत बन्न आग्रह गरेका हुन्।
मन्त्री आलेको आग्रहपछि योगगुरु रामदेवले नेपाल संसारकै अदितीय पर्यटकीय गन्तव्य भएको र आफू पर्यटन दूत हुन पाउनु गौरवको विषय भएको बताए।
उनले भने, ‘नेपाल सरकारको पर्यटन दूत बन्न गरिएको आग्रहलाई उचित समयमा औपचारिक रुपमा ग्रहण गर्ने छु, दूत हुन पाउनु मेरो गौरवको विषय हो।’
उक्त शिविरकै अवसरमा मन्त्री आलेले योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पशुपति नाथको दर्शन समेत गराएका थिए। मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई मन्त्रालयका तर्फबाट सम्मानसमेत गरेका थिए।
उक्त योग शिविरमा पूर्व अर्थराज्यमन्त्री लार्के लामा, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, मन्त्रालयका उच्च अधिकारी र सयौँ योग साधकको उपस्थिति थियो।
योगशिविरपछि योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन्।











