सहकारीको संरचनाले ग्रामीण उद्योगको विकास गर्ने आधार तय भएको छ : मुख्यमन्त्री केसी
पाल्पा, मंसिर ५ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश देशमा शक्तिशाली हुने आधार रहेको बताएका छन्। उनले १२ जिल्लामध्ये ५ जिल्ला अन्न...
पाल्पा, मंसिर ५ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश देशमा शक्तिशाली हुने आधार रहेको बताएका छन्। उनले १२ जिल्लामध्ये ५ जिल्ला अन्न भण्डारका रूपमा रहेका र अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता रहेको बताए।
बगनासकाली गाउँपालिका–८ स्थित बगनासकाली बहुउद्देश्यी सहकारी संस्थाको भवन उद्घाटन गर्दै उनले सहकारीको संरचना प्रयोग गरी ग्रामीण उद्योग विकास गर्ने आधार तय भएको बताए। उनले सहकारीमार्फत ग्रामीण क्षेत्रमा साना उद्योगको स्थापना गर्न सकिने र ग्रामीण क्षेत्रको आर्थिक चलायमान हुने उल्लेख गरे।
सहकारीका माध्यमबाट ग्रामीण क्षेत्रमा सामाजिक एकता कायम गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो सहयोग गरेको मुख्यमन्त्री केसीको भनाइ थियो। विदेश तथा सहरी क्षेत्रमा रहेका युवा जन्मभूमि फर्केर सहकारीका माध्यमबाट स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्ने र त्यसका लागि सरकार लगानी गर्न तयार रहेको उनले बताए।
उनले प्रदेशभित्रका युवालाई रोजगारी तथा स्वरोजगार सिर्जना गर्न पुँजीको अभाव हुनेलाई २ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न प्रदेश विकास बैंक स्थापना गर्ने तयारीमा सरकार रहेको जानकारी गराए। उनले त्यसका लागि रु. ५० करोड बजेटको व्यवस्था गरिएकोसमेत बताए। उनले प्रदेश बंैक स्थापनाले यस क्षेत्रमा साना तथा ठूला उद्योग विस्तार हुने बताए।
कार्यक्रम लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सहकारीका माध्यमबाट गरिबी तथा बेरोजगारको समस्या समाधान गरी ग्रामीण क्षेत्र उत्पादनमुखी क्षेत्रका रूपमा बदलिएको बताए।
प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले देशको आर्थिक क्षेत्रलाई गतिशीत बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सहकारीले आर्थिक कारोबारमात्र होइन, नागरिकका आधारभूत आवश्यकता पूरा गर्न पनि ध्यान दिनुपर्नेमा जोड दिए।
सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले सहकारीमा १ हजार १ सय १० सेयर सदस्य रहेको र सदस्यले कृषि तथा पशुपालनका क्षेत्रमा काम गरिरहेको बताए।











