माओवादीले सम्पन्न गर्यो ललितपुरका सबै वडा सम्मेलन

ललितपुर, मंसिर ४ : नेकपा (माओवादी केन्द्र)ले आज देशभरका छ हजार ७४३ वटा वडामा सम्मेलन आयोजना गरेको छ। काठमाडौँ उपत्यकाकाका काठमाडौँ, ललितपुर र भक्तपुरका सबै वडामा सम्मेलन सम्पन्न गरिएको हो।
यसैक्रममा ललितपुरका महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकासहित बागमती, महाकाँल र कोञ्ज्योसोम गाउँपालिकाका सबै वडामा अभिवेशन सम्पन्न भएको छ। ललितपुर जिल्लामा ७१ वडा छन्। सबै वडामा पार्टीको अधिवेशन सम्पन्न भएको ललितपुर इन्चार्ज हरि दाहालले जानकारी दिए।
माओवादी केन्द्रकी स्थायी समिति सदस्य पम्फा भुसालले आज ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न वडामा पुगी सम्मेलनको उद्घाटन गरिन्। उनले महानगरपालिकाका वडा नं २, १४, १५, २३ र २९ तथा गोदावरीको वडा नं १४ र वडा नं ३ को सम्मेलन उद्घाटन गरिन।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका नेत्री भुसालले माओवादी केन्द्रले उठाएका मुद्दाहरु राष्ट्रिय मुद्दाका रूपमा स्थापित भई संविधानमा समेटिएको उल्लेख गर्दै जनताको सच्चा साथी माओवादी केन्द्र नै भएको दाबी गरिन्।
माओवादी बलियो नहुँदासम्म आधारभूत जनताले अधिकार स्थापित नहुने उल्लेख गर्दै उनले भनिन्,'जनताको अधिकार रक्षा गर्नका लागि माओवादी पार्टी विसं २०६४ मा जस्तै एक नम्बरको पार्टी बन्छ।' मन्त्री भुसालले नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलन माओवादीले नै गरेको अब समाजवादसम्म पुग्ने आन्दोलनको नेतृत्व पनि ‘प्रचण्ड’ नेतृत्वको पार्टीले गर्ने बताइन।
सम्मेलनका क्रममा पार्टीका केन्द्रीय सदस्य अमृता थापाले जनताको पार्टी माओवादीबाहेक अरु हुन नसक्ने जिकिर गर्दै फेरि जनताको घरदैलोमा पुगेर सेवा गर्नुपर्नेमा जोड दिइन। कार्यक्रममा अर्का केन्द्र्रीय सदस्य हरि दाहालले जनताको आधिकार स्थापित गर्न सफल माओवादी पार्टीलाई आगामी निर्वाचनमा जनताको अपार मत प्राप्त हुने विश्वास व्यक्त गरिन।
माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ। आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ। माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडाको नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न र नभएमात्रै निर्वाचनको प्रक्रियामा जाने गरी नीतिगत व्यवस्था गरिएको जानकारी दिएका थिए।











