Kathmandu Press

महाधिवेशनमा प्रधानमन्त्रीले आउँछु भन्नुभएको छ, माधव नेपाललाई बोलाएका छैनौं : तामाङ 

काठमाडौं, मंसिर ४ : एमाले पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी ओली नै सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुने...
महाधिवेशनमा प्रधानमन्त्रीले आउँछु भन्नुभएको छ, माधव नेपाललाई बोलाएका छैनौं : तामाङ 

काठमाडौं, मंसिर ४ : एमाले पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी ओली नै सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुने दाबी गरेका छन्। उनले भने, ‘हामी केपी शर्मा ओलीको नेतृत्वमा नै एमालेलाई अघि बढाउँछौं। पार्टी अध्यक्षमा उहाँ नै सर्वसम्मत हुने हो। त्यही मनोविज्ञानले हामीले काम गर्छौं।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताएका हुन्। उनले १०औं महाधिवेशनमा सर्वसम्मत् रुपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि सुनाए। तर, सहमति नभए चुनावका लागि पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ।

उनले भने,‘हामी सर्वसम्मत् रुपमा पदाधिकारी चयन गर्ने प्रयत्नमा छौं। अहिले महाधिवेशन प्रतिनिधिको कुरा गर्दा पनि सबैजना पालिकादेखि केन्द्रसम्म सर्वसम्मत प्रक्रियाबाट आएका छौं। हामी उम्मेदवार हुन पाइँदैन भन्दैनौं। उम्मेदवारी घोषणा गर्ने अवसर पनि दिइन्छ। उम्मेदवारका बीचमा सहमतिको प्रयास गर्ने हो। प्रक्रिया सबै अपनाइन्छ। सम्पूर्ण तयारी छ।’

उनले महाधिवेशनमा बजेटको हिसाबले साढे ७ करोड लाग्ने अनुमान गरिएको सुनाए। आम नेता तथा कार्यकर्ताले उत्साहपूर्वक पार्टी कोषमा पैसा जम्मा गरिरहेको र यो चार÷पाँच दिनको अवधिमा करिब २५ लाख जम्मा भइसकेको पनि उनले जनाए। उनले भने, ‘हाम्रो सिंगो पार्टीको मनोविज्ञान एकताबद्ध पार्टी नै हो, पार्टीमा सबै उचित स्थान र सम्मान हुन्छ।’

उनले महािधवेशन प्रतिनिधिहरुको अहिले रजिस्टर र इन्ट्री प्रोसेस सुरु भएको पनि जनाए। उनले भने, ‘हामीले सबै प्रक्रिया हाइटेक गरेका छौं। अनलाइन गरेका छौं। १०गते चितवनको नारायणी नदीमा उद्घाटन सत्र हुन्छ, त्यहाँ ५ लाख जनसमुदायको सहभागिता रहनेछ। जनपरिचालन समिति पनि बनाएका छौं। जनता जुटाउने काम गरिएको छ। म आफैं मञ्च व्यवस्थापनको संयोजक हुँ। खुल्ला सत्र, जनसभा कस्तो हुन्छ रु भनेर झझल्को देखिनेगरि तयारी गरेका छौं, महाधिवेशनस्थल हाइटेक गर्छौं। त्यहीअनुसारको सजिसजाउ गरेका छौं। मञ्चको व्यवस्था पनि भव्यता छ। चारैतिरबाट स्टेजको सम्बोधन देख्न मिल्नेगरी एलईडीको व्यवस्था छ। मिडियालाई लाइभको व्यवस्था गरेका छौं।’

उनले कोरोनाको कारणले धेरै मुलुकका प्रतिनिधिलाई महाधिवेशनमा बोलाउन नसकिएको पनि स्मरण गराए। तर, विभिन्न देशका विभिन्न दलबाट आफूहरुलाई शुभकामना सन्देश प्राप्त भैरहेको भने उनले जनाए। महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिइसकिएको र देउवाले पनि आउने विश्वास दिलाएको उनले जनाए। उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई अतिथिका रुपमा निम्तो गरेका छौं। उहाँले आउँछु भन्नुभएको छ। अरु राष्ट्रिय दलका नेताहरुलाई निम्तो गरेका छौं। तर, माधव नेपालको पार्टीलाई भने बोलाएका छैनौं। हाम्रो यसमा प्रस्टै धारणा छ, माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ। अलग दल बनाउन पाइन्छ, तर एमालेको विभाजनको लागि जुन हर्कत गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ। माधव नेपालहरु पार्टी निर्माण गर्ने प्रक्रियामा हुनुहुन्छ। अर्को निर्वाचनपछि कस्तो बन्ला रु वा बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी छ, हाललाई उहाँहरुलाई हाम्रो महाधिवेशमा निम्तो गर्दैनौं।’ 

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने निम्तो गरिएको र उनी आउने वा नआउने भनेर सन्देश पर्खिरहेको पनि तामाङले सुनाए। उनले दाहाल महाधिवेशनमा आउने विश्वास दिलाए। तामाङले आफ्नो पार्टीमा कालापानी, लिपुलेक र लिम्पियाधुराको जिल्लाबाट पनि महाधिवेशनमा प्रतिनिधित्व रहेको सुनाए। 

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्