सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्छ : अर्थमन्त्री शर्मा
काठमाडौं, मंसिर ४ : अर्थमन्त्री जनार्दन शर्माले समाजवादको आधार निर्माणका लागि सामुदायिक पूँजीको परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।माओवादी केन्द्र पाँचथर-काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको...
काठमाडौं, मंसिर ४ : अर्थमन्त्री जनार्दन शर्माले समाजवादको आधार निर्माणका लागि सामुदायिक पूँजीको परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।
माओवादी केन्द्र पाँचथर-काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई आज सम्बोधन गर्दै उनले सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्ने बताएका हुन्।
समाजवादका लागि समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पूँजी निर्माण रहेको बताए। ‘गरिबी अन्त्य गर्ने, असमानताको अन्त्य गर्ने, सामाजिक न्याय स्थापित गर्ने कुरा आजको प्रमुख कुरा हो,’ उनले भने, ‘सामाजिक न्याय स्थापित गर्दै त्यसमा आधारित भएर हामीले समुदायलाई बलियो बनाउनुपर्छ, सामुदायिक पूँजीलाई बलियो बनाउनुपर्छ, मुलतः सामुदायिक पूँजी निर्माणले नै समाजवादको आधार तयार गर्न सक्छौं।’
मन्त्री शर्माले उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिए। ‘उत्पादनका साधन र स्रोतमाथि सामुदायिक स्वामित्व स्थापना गर्नुपर्छ, त्यसबाट मात्रै समाजवादको आधार तयार हुन सक्छ,’ माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका उनले भने, ‘यो हाम्रो भावी कार्यदिशा हो।’
मन्त्री शर्माले सामुदायिक पुँजी निर्माणमा व्यक्तिगत प्रतिस्पर्धालाई समेत स्थान दिनुपर्ने धारणा राखे। समूहमा काम गर्ने संस्कारको विकास गर्दै व्यक्तिगत प्रतिस्पर्धालाई समेत सँगै अगाडि बढाउनुपर्ने उनले बताए।
उनले समाजवादको प्रारम्भिक चरणमा पार्टी कमिटीलाई उत्पादन र रोजगारसँग जोड्नुपर्ने बताए। पार्टी कमिटीले उत्पादन र रोजगारीको क्षेत्रमा नेतृत्व गर्नुपर्ने तथा अर्कोतिर सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानसमेत सँगसँगै लैजानुपर्ने उनको भनाइ छ। त्यसबाट सामाजवादको प्रारम्भिक चरण अघि बढ्ने उनले बताए।
यस्तै समाजवाद नेपालको भूगोल तथा सामाजिक संरचनाका आधारमा निर्माण गरिनुपर्ने पनि मन्त्री शर्माको भनाइ थियो। उनले हिमाल, पहाड, तराई÷मधेस, कर्णाली, दलित, जनजातिलगायतका आधारमा मौलिक समाजवादको आधार तयार पार्नुपर्ने उल्लेख गरे।











