बारद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा : आइतबार देशभरिका अदालतमा बहसपैरवी नगर्ने
बारले समग्र न्यायपालिकाको सुधार र शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेयता निरन्तर कालो पट्टी बाँधी धर्ना, प्रदर्शनलगायत गतिविधिका साथ आन्दोलन गर्दै आएको छ।
काठमाडौं, मंसिर ४ : नेपाल बार एसोसिएसनले भोलि आइतबार (मंसिर ५ गते) देशभरिका अदालतमा बहस पैरवी नगर्ने निर्णय गरेको छ।
बारले आज थप आन्दोलन कार्यक्रम सार्वजनिक गर्दै भोलि बन्दी प्रत्यक्षीकरणको मुद्दामा भने देशभरिका अदालतमा बहस पैरवी नगर्ने जानकारी गराएको हो।
बारले जारी गरेको विज्ञप्तिमा सोमबार अदालतको मूल गेटमा बिहान १० बजेदेखि १२ बजेसम्म धर्नालाई निरन्तरता दिने र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय कार्यालयमा गएर ध्यानाकार्षणपत्र बुझाउने उल्लेख छ।
बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा मंसिर ८ गते १८ वटा उच्च अदालत र तिनका इजलास रहेका ठाउँमा सोही अधिकार क्षेत्रभित्रका कानुन व्यवसायीहरुको सहभागितामा विरोध सभा आयोजना गर्ने, ९ र १० गते काठमाडौं उपत्यकाका सबै बार एकाइका कानुन व्यवसायीको व्यापक सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ।
बारले समग्र न्यायपालिकाको सुधार र शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेयता निरन्तर कालो पट्टी बाँधी धर्ना, प्रदर्शनलगायत गतिविधिका साथ आन्दोलन गर्दै आएको छ।
हेर्नुहोस् विज्ञप्ति