प्राचीन कला र संस्कृति विश्वमा पुर्याउन हस्तकलाको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री देउवा
काठमाडौं, मंसिर ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सीप विश्वमा पुर्याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताएका छन्।नेपाल हस्तकला महासङ्घको १८औं...
काठमाडौं, मंसिर ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सीप विश्वमा पुर्याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपाल हस्तकला महासङ्घको १८औं हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता उद्घाटन समारोहलाई आज राजधानीमा सम्बोधन गर्नुहुँदै उहाँले आन्तरिक रोजगारी सृजनामा समेत यो उद्योगले सहयोग रहेको बताए।
‘हस्तकला उद्योगले आधुनिकतासँग मिल्नेगरी सामग्री निर्माण गर्नुपर्छ, यसले अझै विश्वजगत्मा हस्तकलालाई चिनाउन सहयोग गर्छ, यसबाट हस्तकलाका सामग्री बिक्री वितरणमा पनि मद्दत पुग्छ, यसकै माध्यमबाट प्राचीन कला, संस्कृति विश्वभर फैलन्छ,’ प्रधानमन्त्री देउवाले भने।
हस्तकला उद्योगले नेपालको गरिमालाई विश्वमा उच्च बनाएकाले पनि यसको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने उनको प्रतिबद्धता थियो। दक्षिण एसियाली क्षेत्रीय सहयोग सहयोग सङ्गठन (सार्क) हस्तकला विकास केन्द्रका माध्यमबाट पनि नेपाली हस्तकलालाई विश्वभर फैल्याउने गरी काम अघि बढाइने प्रधानमन्त्री देउवाको भनाइ थियो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले हस्तकलाले देशको कला, संस्कृतिलाई देशविदेशमा प्रचारप्रसार गर्न सहयोग पुगेको बताए। ‘ढुङ्गा र धातुका मूर्ति, काष्ठकलाका चित्र, मिथिला कला चित्रलगायत हस्तकलाका सामग्री बनाइ विदेशमा निर्यात व्यापार प्रवद्र्धन गर्न सकिन्छ, यसबाट हाल ८० देशमा वार्षिक रु छ खर्बको हाराहारीमा भइरहेको हस्तकलाको व्यापार वृद्धि गर्न मद्दत पुग्छ,’ उनले भने।
महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपालको मौलिक उद्योगका रुपमा रहेका हस्तकलाले २०४८ देखि नै व्यापार प्रवर्धनका लागि सरकारसँगको सहकार्यमा मेला आयोजना गर्दै आएको जानकारी दिए। हस्तकला उत्पादनको बजारीकरणका लागि मेलाले सहयोग गर्दै आएको उनले बताए।
‘हस्तकलाले आन्तरिक रोजगारी सिर्जनामा सहयोग गरेको छ, नेपाल आउने पर्यटकले चिनोका रुपमा लैजाने सामग्रीका रुपमा हस्तकला उद्योग उपयोग हुने गरेको छ, कोभिडको जोखिम कायमै रहेपनि वार्षिक रु. ६ अर्बको सामग्री विदेश निर्यात हुने गरेको छ,’ अध्यक्ष शाक्यले भने।
हाल आन्तरिक बजारमा वार्षिक रु. दुई अर्बको हस्तकलाका सामग्री वितरण हुने गरेको छ। हस्तकला उद्योगले ८ लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ। त्रिपुरेश्वरस्थित उद्योग परिसरमा सार्क हस्तकला विकास केन्द्र निर्माण सम्पन्न भई सञ्चालन हुने तयारीमा रहेको छ।
महासंघले हस्तकला ग्रामको अवधारणा दुई दशकअघिदेखि अघि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन। हस्तकला नीति बनाएर सरकारलाई बुझाएको एक दशक पुग्न लाग्दासमेत जारी नभएको महासंघले जनाएको छ।
व्यापार मेला संयोजक रवीन्द्र शाक्यले २०२९ सालमा स्थापना भएको महासङ्घमा हाल चार हजार २५५ सदस्य रहेको जानकारी दिए। महासङ्घको नेतृत्वमा ललितपुरलाई विश्वमै ३५औँ कला नगरी घोषणा गर्न सफल भएको उनले सुनाए।
मङ्सिर ५ गतेसम्म सञ्चालन हुने मेला एक लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ। व्यापार मेलामा रु ५ करोडका हस्तकलाका सामग्री बिक्री वितरण गर्ने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ।











