मर्यादित ढंगले कांग्रेस अधिवेशन सम्पन्न गर्न काठमाडौं सभापतिकाे आग्रह
काठमाडौं, मंसिर ३ : नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँले मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर...
काठमाडौं, मंसिर ३ : नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँले मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश ‘क’ को प्रदेश अधिवेशन आज उद्घाटन गर्दै सभापति बानियाँले पार्टीभित्रको एकतालाई कायम राखेर मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह गरेका हुन्।
‘अधिवेशनले पार्टीभित्र विग्रह ल्याउने काम नहोस्, तिक्तता होइन, आपसी एकता निर्वाचनले कायम गरोस्,’ उनले भने। सामूहिक रूपमा संगठनलाई अगाडि बढाउनसमेत बानियाँले आम नेता तथा कार्यकर्तालाई आग्रह गरे।
नेपाली कांग्रेस काठमाडौं–६ प्रदेश ‘क’ का सभापति ख्यामराज तिवारीले आम निर्वाचनमा कांग्रेसलाई बलियो बनाउने खालको नेतृत्व पार्टी अधिवेशनले छनोट गर्नुपर्ने बताए। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको २० प्रदेशसभामा एकैसाथ निर्वाचन भइरहेको छ।
आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन, १६ र १७ गते प्रदेश अधिवेशन र २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय भएको छ।











