Kathmandu Press

वैदेशिक रोजगार क्षेत्रलाई बेथितिमुक्त बनाइनेछ :  मन्त्री श्रेष्ठ

काठमाडौं, मंसिर ३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताएका छन्। वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक...
वैदेशिक रोजगार क्षेत्रलाई बेथितिमुक्त बनाइनेछ :  मन्त्री श्रेष्ठ

काठमाडौं, मंसिर ३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताएका छन्। 

वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

‘वैदेशिक रोजगारीमा जाने कुनै पनि श्रमिक ठगिनु हुँदैन भन्नेमा म दृढ छु,’ उनले भने, ‘यस क्षेत्रलाई व्यवस्थित बनाउन भएका कानूनलाई कडाइका साथ कार्यान्वयन गरिन्छ।’ वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिक ठगिने क्रम नरोकिएको स्वीकार गर्दै उहाँले ठगीमा परेका श्रमिकको कुरा नसुनी आफूले कुनै पनि मुद्दाको पुनरावलोकन नगर्ने बताए। 

उनले भने, ‘पीडितलाई न्याय दिलाउन मन्त्रालय र वैदेशिक रोजगार विभाग कटिबद्ध छ।’ वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउनुपर्ने, वैदेशिक रोजगारबाट फर्केका युवाको सीप परीक्षण, वैधानिक तवरबाट विप्रेषण भित्र्याउन सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुनः एकीकरणसम्बन्धी निर्देशिक छिट्टै मन्त्रालयबाट स्वीकृत हुने बताए।
 
मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारीका लागि तोकिएको सेवा शुल्कभन्दा बाहिर ठूलो रकमको कारोबार हुने गरेको र त्यसबाट राज्य र श्रमिक दुवै पक्ष ठगिएकाले सेवा शुल्कका बारेमा पुनःविचार हुनुपर्ने बताए। 

सरकारले खाडीसहित केही मुलुकका लागि सेवा शुल्क १० हजार तोकेको छ तर म्यानपावर कम्पनीले श्रमिकसँग तोकिएभन्दा ठूलो रकम लिँदै आएका छन् भन्दै उहाँले एक महिनाको पारिश्रमिक बराबरको रकम सेवा शुल्क तोक्ने विषयलाई अगाडि बढाउन मन्त्रालयले तयारी गरेको बताए।
 
वैदेशिक रोजगार अध्येता रामेश्वर नेपालले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन यससँग सम्बन्धित कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताए। उनले संस्थागत क्षमता अभिवृद्धि, संरचनात्मक सुधार, श्रमिक मैत्री व्यवहार तथा कर्मचारीलाई श्रम र मानवअधिकारका बारेमा जानकारी दिनुपर्ने उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिकको ज्यान जाने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले श्रमिकको मृत्युका कारणका बारेमा अनुसन्धान गरेर त्यसको समाधान खोज्नुपर्नेमा जोड दिए। 

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले वैदेशिक रोजगार ऐन, विसं २०६४ लाई परिमार्जन गर्न र वैदेशिक रोजगारीबाट फर्केका कामदारको पुनःएकीकरणमा ध्यान दिन आग्रह गरे।
 
पौरखी नेपाल संस्थाकी मञ्जु गुरुङले घरेलु कामदारका रुपमा महिलामाथिको प्रतिबन्ध तत्काल खुला गर्नुपर्ने बताइन्। वैधानिकरुपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाउँदा श्रमिक महिला अवैधमार्गबाट विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले अवैध रुपमा विदेश जाने महिला राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको बताइन्।

प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्