समयमै पुनर्निर्माण सम्पन्न गर्न निर्देशन
काठमाडौँ, माघ १७ : राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भूकम्पपछिको पुनर्निर्माण समयमै सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्....

काठमाडौँ, माघ १७ : राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भूकम्पपछिको पुनर्निर्माण समयमै सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले प्राधिकरणलाई निजी आवास, शैक्षिक संस्था, पुरातात्विक सम्पदा, स्वास्थ्य संस्था, एकीकृत बस्ती लगायतलाई प्राथमिकताका आधारमा पुनर्निर्माण गर्न निर्देशन दिएको हो ।
समितिका सभापति दिलकुमारी रावल थापाले सम्पदाको पुनर्निर्माण गर्दा समय, गुणस्तर र ऐतिहासिक महत्वलाई ध्यान दिन, तीन तहका संरचनाहरुबीच समन्वय गर्न, पुनर्निर्माणसम्बन्धी स्थानीय तहसम्म रहेका सबै संरचनालाई अझ बढी क्रियाशील बनाउन निर्देशन दिए ।
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास, शैक्षिक संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, सांस्कृतिक सम्पदा लगायतको पुनर्निर्माणमा हालसम्म भएको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराउनु भएको थियो ।
उनले पुनर्निर्माणको कार्यलाई गति दिन र स्थानीय तहमा स्वामित्व बढाउन स्थानीय तहलाई अधिकार हस्तान्तरण गरेको जानकारी दिए । बैठकमा सांसदहरुले सम्पदाको पुनर्निर्माण, विदेशमा भएका लाभग्राही, पुनर्निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय, लाभग्राहीले ठाउँ परिवर्तन गर्न पाउने÷नपाउने, सहुलियत ऋणलगायत विषयमा जिज्ञासा राखेका थिए ।










