कानून व्यवसायीहरूमाथि बल प्रयोग नगर्न मानवअधिकार आयोगको आग्रह
काठमाडौं, मंसिर २ : राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बार एसोसियशनको अगुवाइमा भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ...
काठमाडौं, मंसिर २ : राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बार एसोसियशनको अगुवाइमा भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै आजको प्रदर्शन अवलोकन गरेको मानव अधिकार आयोगले विना हातहतियार शान्तिपूर्वक भेला हुने तथा स्वतन्त्र रूपमा विचार तथा अभिव्यक्ति राख्न पाउने हकको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरू प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएको अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । कानुन व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन विपरीतको कार्य भएको आयोगले भनेको छ ।
यस्तै शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीहरूमाथि अनावश्यक बल प्रयोग नगर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न तथा घटनाको छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले नेपाल सरकारसँग आग्रह पनि गरेको छ ।









-1788524800.jpg)

