यस्तो हुनेछ एमाले महाधिवेशन मञ्च
चितवन, मंसिर २ : एमालेको आसन्न १०औं महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ। यसका लागि नारायणी नदी किनारमा धमाधम काम...
चितवन, मंसिर २ : एमालेको आसन्न १०औं महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ। यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ।
एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्शाङ्कन गरिएको छ। एक सय अतिथि रहने गरि आकर्षकमञ्च निर्माण गरिने जनाइएको छ। उनले भने, ‘१६ फिट अग्लो मञ्च निर्माण गर्दै छौं।’ निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुनेछ। माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य ,दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौंथो खण्डमा पोडियम रहने उहाँले जानकारी दिए।
उनका अनुसार ७२ कलाकारले एकै पटक प्रस्तुति दिनसक्ने गरी मञ्च निर्माण गरिनेछ। सो मञ्च ८ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो हुनेछ। उनले भने, ‘नारायणी नदीको पुलबाट र गैँडाकोट तर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्चको ढाँचा गरेका छौं।’ उद्घाटन सत्रमा कार्यक्रमस्थल सहित विभिन्न स्थानमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ।
एमालेले १०औं महाधिवेशनमा पाँच लाख जनता सहभागी गराउने पार्टीले जनाउँदै आएको छ। जनताको सहभागिता अनुसार सहजै उद्घाटन कार्यक्रम हेर्न सक्नेछन्। उनले भने, ‘बगरमाथि पनि भव्य मञ्च बनाउन सकिने सन्देश दिनेछौं।’ अहिले कार्यक्रमस्थलमा भएका खाल्डाखुल्डी पुर्ने र व्यवस्थापनको काम भइरहेको छ।
मञ्च व्यवस्थापनका लागि ५०० स्वयमसेवक परिचालन गरिनेछ। नदी किनारलाई आकर्षक बनाएर १० गते बिहान मूल आयोजक समितिलाई हस्तान्तरण गर्ने गरि काम भइरहेको उनले बताए। आगामी दिनमा यो क्षेत्रमा ठूला कार्यक्रम गर्न मिल्ने गरी किनारलाई व्यवस्थित गरिने उहाँले जानकारी दिए।
मञ्च व्यवस्थापनको क्रममा ठाउँ ठाउँमा सेल्फी प्वाइन्ट बनाइनेछ। एमालेको महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म यहाँ हुँदैछ। नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्दसत्र कार्यक्रम छ। बन्द सत्रमा करिब दुई हजार प्रतिनिधि सहभागी हुँदैछन्।









-1788524800.jpg)

