Kathmandu Press

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा, आज प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं, मंसिर २ : नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी...
अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा, आज प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं, मंसिर २ : नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा काठमाडौं आएका छन्।

दुई महिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनले शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ। मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन्।

यसैबीच, यहाँस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको जनाएको छ।

बिहीबार दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ पुग्ने तथा उनले नेपाली अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो।

प्रकाशित मिति: ०७:५८ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्