तीन वटा कम्पनीको सिमेन्ट बिक्रीमा रोक
काठमाडौं, मंसिर २ : गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरिएको भन्दै तीन कम्पनीको सिमेन्ट बिक्रीमा रोक लगाइएको छ।गुणस्तर तथा नापतौल विभागले विभिन्न...
काठमाडौं, मंसिर २ : गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरिएको भन्दै तीन कम्पनीको सिमेन्ट बिक्रीमा रोक लगाइएको छ।
गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरेका कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो। विभागले सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट बिक्रीमा रोक लगाएको जनाएको छ।
त्यस्तै, जानकी केबल प्रालि र श्री ग्यास वान नेपाललाई कारबाही गर्दै १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ।
बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमूना विभागको प्रयोगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा सम्बन्धित नेपाल गुणस्तरबमोजिम नपाइएकाले नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारबाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
उनका अनुसार सिरहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमूना परीक्षण गर्दा मापदण्डानुसार गुणस्तर नभएको भेटिएको हो। कम्पनीले एउटा गुणस्तर भने पनि अनुगमन र नमूना परीक्षण गर्दा सो गुणस्तर भेटिएको थिएन।
विभागले तीनै सिमेन्ट उद्योगका उत्पादनको बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता लग्नसमेत निर्देशन दिएको छ।
कुनमा के गल्ती?
मारुतीले उत्पादन गरेको सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरअनुरुप नरहेको, कम्पनीले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ फेला परेको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
युनाइटेडले कम्पनीले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै विभागले कारबाही गरेको हो। कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३७ र ५३ हुनेपर्नेमा ३५ र ३९ फेला परेको परेको थियो।
यसैगरी, जगदम्बा कम्पनीले उत्पादन गरेको सिमेन्टको तीन र सात दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो। कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० फेला परेको थियो।
श्री ग्यासको बोटलिङ बन्द
विभागले ग्यास बोटलिङमा सामान्य सुरक्षाका मापदण्ड पनि पूरा नगरेको भन्दै श्री ग्यासको बोटलिङ अपरेशन नै बन्द गराएको छ। उद्योगले सिलिन्डरमा स्फेटी क्याप नलगाएको, टेर वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको र उद्योगमा सिभिटी मेसिनसमेत नभएको भन्दै कारबाही गरिएको विभागले जनाएको छ।
उद्योगले एचएसटी मेसिन प्रयोग नगरेको, सिलिण्डर धुने पखाल्ने व्यवस्था नभएको, बिग्रेको भल्भ नै परिर्वतन गर्नुपर्नेमा मर्मत गरेको, स्प्रिङ्कल मेसिन चालू अवस्थामा नरहेको र प्रेरगजको क्यालिब्रेस नभएको अवस्थामा फेला पारेपछि ग्यास उद्योग नै बन्द गरेको विभागमा महानिर्देशक पुडासैनीले जानकारी दिए। विभागले उद्योग बन्द गर्दै १५ दिनभित्र स्पष्टीकरण पेश गर्ने भन्दै पत्रचार गरेको छ। (रासस)









-1788524800.jpg)

