हिरासतमा रहेका कर्मचारीहरूलाई तुरुन्त रिहा गर्न संयुक्त राष्ट्रसंघ प्रमुखको आह्वान

काठमाडौं, मंसिर १ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चार दिनअघि इथियोपियामा पक्राउ परेका राष्ट्रसंघका १० कर्मचारीलाई तत्काल रिहा गर्न आह्वान गरेका छन् ।
महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्ति अनुसार महासचिवलाई कर्मचारीलाई पक्राउ गर्नाको खास कारणबारे कुनै जानकारी दिइएको छैन र उनीहरूलाई पुष्टि हुने खालको आरोप पनि लगाइएको छैन । संयुक्त राष्ट्रसंघका कर्मचारीहरूले इथियोपियामा महत्त्वपूर्ण र निष्पक्ष काम गरिरहेका छन् ।
महासचिवले संयुक्त राष्ट्रसंघका कर्मचारीहरूको विशेषाधिकार र उन्मुक्तिको सम्मान गर्ने दायित्वलाई जोड दिदै अन्तरराष्ट्रिय र इथियोपियाली दुवै पक्षले यसको सम्मान गर्नुपर्ने धारणा राखेका छन् । सैन्यबल र द्वन्द्वले इथियोपियामा दिगो शान्ति र स्थायित्व ल्याउन सक्दैन, विज्ञप्तिमा भनिएको छ।
महासचिवले द्वन्द्वरत पक्षहरूलाई शत्रुता अन्त्य गर्न र नागरिकहरूको हितलाई प्राथमिकता दिन आग्रह गरेका छन्। त्यसैगरी विज्ञप्तिमा भनिएको छ सुरक्षित र निर्बाध मानवीय पहुँचलाई तुरुन्तै पुनर्स्थापित गरिनुपर्छ।
उनले इथियोपियाले सामना गर्ने चुनौतीहरू सबै इथियोपियालीहरू सम्मिलित वार्ताबाट मात्र समाधान गर्न सकिन् भन्ने कुरामा जोड दिए ।











