इजरायलका प्रधानमन्त्री बेनेट भारत भ्रमणमा आउने
नयाँदिल्ली, मंसिर १ : इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउने भएका छन्। उनी कहिले आउने यकिन नभए पनि अर्को वर्ष सन् २०२२ मा...
नयाँदिल्ली, मंसिर १ : इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउने भएका छन्।
उनी कहिले आउने यकिन नभए पनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले जनाएका छन्।
‘इजरायली प्रधानमन्त्रीको भारत भ्रमणका लागि हामीले काम गरिरहेका छौं, अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, चाँडै नै निधो हुने हाम्रो विश्वास छ,’ भारतका लागि इजरायली राजदूतले भने।
सन् २०२२ को मध्यतिर प्रधानमन्त्री बेनेटले भारतको भ्रमण गर्नुहुने अपेक्षा गरिएको पनि राजदूत नाओर गिलोनले जानकारी दिए।
इजरायली प्रधानमन्त्री बेनेटले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्वन्धी सम्मेलनका क्रममा ग्लास्गोमा भेटवार्ता गरेका थिए।
‘साइडलाइन’ भेटवार्ताकै क्रममा उहाँहरुबीचमा भ्रमणको कुरा उठेको र दुई पक्षीय गृहकार्यका आधारमा मिति तय गर्ने सहमती भएको उनले बताए।
पछिल्लो समयमा इजरायल र भारतकबीचमा सम्वन्ध थप बलियो बनाइ सहकार्य गर्ने बारेमा विभिन्न चरणमा छलफल भइरहेका छन्।
भारतका सेना प्रमुख एमएम नाराभाने आइतबारदेखि इजरायलको पाँच दिने भ्रमण गरेका छन्।
दुई देशबीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्देश्य रहेको भारतीय सेनाले जनाएको छ।
‘भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशबीचमा छलफल गर्न सेना प्रमुख गएको सेनाले जनाएको छ।
भारतका विदेशमन्त्री एस जयशङ्कर र रक्षा सचिव अजयकुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गरेका हुन्।
रणनीतिक हिसाबले महत्व राख्ने दुई देशबीचमा सम्न्धब विस्तारका लागि भइरहेका भ्रमण, भेटवार्ता र छलफललाई अर्थ पूर्ण रुपमा हेरिएको छ।











