करदाताको गुनासो सम्बोधन गर्न संयन्त्र बनाइने
अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र कर प्रशासनलाई व्यवस्थित एवं जनताप्रति उत्तरदायी बनाइने बताएका छन्। दसौं कर दिवस २०७८ का अवसरमा आन्तरिक राजस्व...
काठमाडौं, मंसिर १ : अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र कर प्रशासनलाई व्यवस्थित एवं जनताप्रति उत्तरदायी बनाइने बताएका छन्। दसौं कर दिवस २०७८ का अवसरमा आन्तरिक राजस्व विभागमा आज आयोजित कार्यक्रममा उनले करदाताको गुनासो सम्बोधन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए।
कर प्रशासनमा हुने झन्झट र कुनै अड्चन र समस्या आयो भने तत्काल समाधान गर्ने इकाइ बनाइने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘करदाताको गुनासो सुन्नुपर्छ, तत्काल एउटा इकाइ बनाइनेछ, तत्काल कार्यान्वयन हुने संयन्त्र बनाउँछु, कहाँ समस्या छ त्यहाँ तत्काल समाधान गर्नुपर्छ।’
व्यवसायीलाई सहयोग गर्न भन्सारमा व्यापार सुधार थालिएको बताउँदै उनले प्रत्येक भन्सार कार्यालयमा ‘भेहिकल स्क्यानर’ राखिने जानकारी दिए। ‘भन्सारमा भइरहेको ढिलाइका कारण व्यवसायीले दुःख व्यहोर्नु परेको छ, अब भन्सारमा स्क्यानर राखिनेछ, जसले व्यवसायीलाई आयातनिर्यातमा सहज गर्नेछ,’ उनले भने।
अर्थमन्त्रीले कर छली र चुहावट रोक्न सरकार कडाइका साथ प्रस्तुत हुने बताए। कर प्रशासनबाट करदातामैत्री व्यवहार हुनुपर्नेमा जोड दिँदै उनले करदताप्रति सरकारको विभेद्कारी नीति नहुने प्रष्ट पारे। उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धिको आवश्यकता रहेको र त्यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। ‘तपाईंहरुलाई के चाहिन्छ भन्नुस्, आशङ्का दूर गर्नुस्, आयात प्रतिस्थापन, देशभित्रको साधनस्रोतको उपयोग नगर्दासम्म मुलुक समृद्ध हुन सक्दैन,’ मन्त्री शर्माले भने। उनले जनताको सेवकका रुपमा काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न कर नीतिमा स्थिरताको खाँचो रहेको उल्लेख गर्दै करको दायरा विस्तार गर्ने तर करको दर वृद्धि नगर्ने सरकारको नीति रहेको बताए। सरकारले लिएको करबाटै सुशासन, विकास र समृद्धिको यात्रा अगाडि बढ्ने भन्दै उनले कर तिर्न कन्जुस्याईं गर्ने प्रवृत्ति त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गरे। अर्थ मन्त्रालयका सचिव (राजस्व) कृष्णहरि पुस्करले कर बाध्यताले नभई रहरले तिर्ने, कर तिर्न उत्सुकता जगाउने, स्वेच्छाले कर तिर्न सहयोग गर्ने उद्देश्यले सरकारले नीतिगत तथा प्रक्रियागत सुधारको काम गरेको बताए।
विभागका महानिर्देशक शोभाकान्त पौडेलले नीतिगत सवलीकरण, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार, कर शिक्षा तथा जागरणलगायत विषयमा गरिएको सुधारबाट कर प्रशासन करदातामैत्री, लगानीमैत्री र प्रविधिमैत्री बन्दै गएको बर्ताए। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायी कर तिर्न तयार रहेको र त्यसका लागि मर्यादित व्यवसाय विस्तारको वातावरण बनाइदिन सरकारसँग आग्रह गरे।
नेपाल उद्योग परिसङ्घका कावा अध्यक्ष कृष्णप्रसाद अधिकारीले कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै करको बहुदर कायम गर्न सरकारको ध्यानाकर्षण गराए। नेपाल राष्ट्रिय उद्योग व्यपार सङ्गठनका कावा अध्यक्ष डम्बरदेव अर्यालले राष्ट्रिय औद्योगिकीकरण नगरी अर्थतन्त्र सवल हुन नसक्ने भन्दै राष्ट्रिय औद्योगिकीकरणमा टेवा पुग्ने नीति अख्तियार गर्न सरकारसँग आग्रह गरे।











