Kathmandu Press

एमाले १० औं महाधिवेशन : उद्घाटनमा सात स्थानबाट जुलुस, ५ लाख बढी सहभागी

एमाले १० औं महाधिवेशन : उद्घाटनमा सात स्थानबाट जुलुस, ५ लाख बढी सहभागी

चितवन, मंसिर १ : नेकपा एमाले १०औं महाधिवेशनको उद्घाटनमा सात स्थानबाट जुलुस निकालिने भएको छ । चितनवमा हुने १०औं महाधिवेशनमा विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक सात ठाउँबाट जुलुस निकाल्न लागेको एमालेले जनाएको छ।

महाधिवेशन उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने एमालेले जनाएको छ । त्यसमा चितवनबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने दाबी एमालेको छ।

पूर्वबाट आउने सहभागी भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुने र पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन्।

उनका अनुसार मुग्लिनतर्फबाट आउने सहभागी आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने र उक्त ठाउँमा रोकिएका सवारीलाई नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिएको छ।

यस्तै, माडी, जगतपुर, गीतानगरतर्फबाट आउने सहभागी हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको अध्यक्ष रावलले जानकारी दिइन्। ती ठाउँबाट आउने सवारीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिएको छ। भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौलीलगायत क्षेत्रबाट आउने सहभागीलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ ।

भरतपुर महानगरपालिका–१६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागी बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने सवारीलाई सोही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको उनले बताइन्।

कालिका नगरपालिका र भरतपुर महानगरपालिका–११ तर्फबाट आउने सहभागी विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । पश्चिम नेपालबाट आउने सर्वसाधारणलाई गैँडाकोटबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने सवारीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।

एमालेको १०औं महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटनसत्र नारायणगढको नारायणी नदी किनार र बन्दसत्र सौराहाको होटल सेभेन स्टार परिसरमा हुने छ । महाधिवेशनले २२५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।

 

प्रकाशित मिति: १०:५४ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्