भारतमा ६ लेन सडक उदघाटनमा लडाकु जहाज प्रदर्शन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार उत्तरप्रदेशमा निर्मित ६ लेन सडक उदघाटन गरे। सडक उदघाटन समारोहमा लडाकु जहाज पनि प्रदर्शन गरियो।
नयाँदिल्ली, कात्तिक ३० : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार उत्तरप्रदेशमा निर्मित ६ लेन सडक उदघाटन गरे । सडक उदघाटन समारोहमा लडाकु जहाज पनि प्रदर्शन गरियो ।
करिब तीन सय ४१ किलोमिटर लामो उक्त सडकले उत्तरप्रदेशको राजधानी लखनऊनजिकको चाँदसर्रे गाउँ र गाजिपुर जिल्लाको हेदरिया गाउँलाई जोड्छ । उत्तरप्रदेश एक्सप्रेसवेज् इन्डस्ट्रियल अथोरिटीले यो सडक निर्माण गरेको हो ।
यही सडक किनारामा ३.२ किलोमिटर लम्बाइको ‘एयरस्ट्रिप’ पनि निर्माण गरिएको छ । उक्त विमानस्थललाई जहाजहरूको आकस्मिक अवतरणमा प्रयोग गर्ने सरकारको योजना छ ।
१० अक्टोबर २०१८ मा शिलान्यास गरिएको सडक प्रधानमन्त्री मोदीले मंगलबार उदघाटन गरेका हुन् । उक्त सडक उदघाटनका लागि कार्यक्रमस्थलमा पुग्न उनले इन्डियन एयरफोर्सको लडाकु जहाज सी–१३० हर्कुलस प्रयोग गरेका थिए ।
कार्यक्रम स्थलमा सी–१३० सुपर हर्कुलस, जेगुआर, मिराज २०००, एएन–३२ लगायत लडाकु जहाजको उडान र अवतरण गराइएको थियो ।
समारोहलाई सम्बोधन गर्दै मोदीले उत्तरप्रदेशको विकास विगतका मुख्यमन्त्रीहरूको घरसम्म मात्र सीमित रहेको दाबी गरे ।











