झुठो कागजपत्र पेस गरेर प्रहरीमा भर्ना भएका सईसहित प्रधानाध्यापक र शिक्षकविरुद्ध मुद्दा

काठमाडौं, कात्तिक ३० : इलाका प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव निरिक्षक विरेन्द्र महतोसहित तीन जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
महतोले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति सच्चाई किर्ते गरी झुटो प्रमाणपत्र पेस गरेर नेपाल प्रहरीमा भर्ना भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट महतोले प्रहरी जवान पदमा नियुक्ति हुँदा झुठो प्रमाणपत्र पेस गरेको पुष्टि भएको हो। उनलाई कानुन बमोजिम कारवाही गर्न विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन्।
उनीसँगै उनको चारित्रिक प्रमाणपत्र र एसएलसीको प्रतिलिपी प्रमाणपत्र जारी गर्दा जन्ममिति सच्चाएका सरस्वती माध्यमिक विद्यालय पिपरा रौतहटका तत्कालिन प्रधानाध्यापक रविन्द्र झा र शिक्षक मुकेशकुमार सिंहविरुद्ध पनि आरोपपत्र दायर गरिएको छ।











