भारतको लगानी क्षेत्र : कर्नाटकमा चार सयवटा फर्चुन-५०० कम्पनी
प्रविधिको क्षेत्रमा कर्नाटक भारतको अग्रणी राज्य हो। लगानी र निर्यात दुवै पक्षमा कर्नाटक शीर्षस्थानमा आउँछ। यसबाहेक अटोमाबाइल्स, इलेक्ट्रोनिक्स, खाद्यान्न प्रशोधन, हेभी मेसिनरी तथा टेक्सटाइल उद्योगको क्षेत्रमा पनि कर्नाटक निकै अगाडि छ।
नयाँदिल्ली, कात्तिक ३० : प्रविधिको क्षेत्रमा कर्नाटक भारतको अग्रणी राज्य हो। लगानी र निर्यात दुवै पक्षमा कर्नाटक शीर्षस्थानमा आउँछ। यसबाहेक अटोमाबाइल्स, इलेक्ट्रोनिक्स, खाद्यान्न प्रशोधन, हेभी मेसिनरी तथा टेक्सटाइल उद्योगको क्षेत्रमा पनि कर्नाटक निकै अगाडि छ।
अग्रणी बन्नका लागि कर्नाटकलाई उसको भौतिक पूर्वाधारले पनि निकै टेवा पु¥याएको छ। दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल भएको यो राज्यमा १४ वटा राष्ट्रिय राजमार्ग तथा ११५ मा राज्यस्तरका राजमार्ग जोडिएका छन् भने तीन हजार दुई सय ५० किलोमिटर लामो रेलमार्गले अझ सहुलियत थपेको छ।
१० वटा मध्यम बन्दरगाह र मंगलरुमा रहेको एउटा ठूलो बन्दरगाह छन् कर्नाटकमा, जसले तीन सय किलोमिटर समुद्री तट छोएको छ। यसबाहेक बेंगलुरु–मुम्बई इकोनोमिक करिडोर र चेन्नई–बेंगलुरु औद्योगिक करिडोर पनि यही राज्य हुँदै गएका छन्।
कर्नाटकले सन् २०१९–२० मा १५ बिलियन डलरबराबरका सामग्री निर्यात गरेको थियो, जुन भारतको कुल निर्यातको करिब ५.२ प्रतिशत हिस्सा हो । यो भारतको चौथो बढी निर्यात गर्ने राज्य पनि हो।
भारतमा पहिलोपटक एरोस्पेस नीति लागू गरेको कर्नाटक एरोस्पेस तथा सुरक्षा क्षेत्रमा देशकै अग्रणी राज्यमध्येमा पर्छ। अटोमोबाइल्सको क्षेत्रमा पनि कर्नाटकले निरन्तर फड्को मार्दैछ। कुल राष्ट्रिय उत्पादनमा ८.५ प्रतिशत योगदान गरेको कर्नाटक देशकै चौथो ठूलो अटोमोबाइल उत्पादक हो।
कृषि तथा खाद्यान्न क्षेत्रमा भने कर्नाटकले देशकै प्रतिनिधित्व गर्छ। भारतको कुल कफी उत्पादनको ७० प्रतिशत यहीं हुन्छ भने भारतमा हुने सिल्क उत्पादनको ३३ प्रतिशत यहींबाट जान्छ।
यस्तै, बायोटेक्नोलोजीको क्षेत्रमा पनि यसले भारतको उल्लेखनीय हिस्सा ओगटेको छ। भारतका बायोटेक्नोलोजीसम्बन्धी कम्पनीमध्ये ६० प्रतिशत कर्नाटकमै छन् भने भारतको कुल बायोटेक निर्यातको ३३ प्रतिशत र फर्मा निर्यातको १२ प्रतिशत कर्नाटकले नै धानेको छ।
कर्नाटक भारतको सबैभन्दा ठूलो सफ्टवेयर निर्यात गर्ने राज्य हो। प्रविधिको क्षेत्रमा विश्वभर भारतलाई गन्तव्यका रूपमा स्थापित गराउन कर्नाटकको मुख्य योगदान छ।











