राष्ट्रिय गौरवका आयोजनामा अन्तरमन्त्रालय समन्वय आवश्यक : मन्त्री डा. रिजाल

काठमाडौं, कात्तिक २९ : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय ढङ्गबाट निर्धारित समयमै पूरा गर्न अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताएका छन्।
रक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले समीक्षामा उठेको विषयवस्तुको गाम्भीर्यतालाई हेक्का गरी जिम्मेवारपूर्वक कार्य सम्पादन गर्न विभिन्न मन्त्रालयका सहभागी प्रतिनिधिलाई निर्देशन दिए।
उनले भने, ‘आज यो मन्त्रालयले के कुरा राख्यो, विभिन्न मन्त्रालयबाट आउनुभएको प्रतिनिधिले के कुरा सुन्नुभयो, के भन्नुभयो, एउटै बुझाइ हुनुपर्यो। अनि मात्र समयमै गुणस्तरीय परिणाम दिन सक्छौँ।’
प्रधानसेनापति प्रभुराम शर्माले सेनाको व्यवस्थापनमा रहेको आयोजना ढिलासुस्ती र अनियमितता नहुने स्पष्ट पारे। उनले भने, ‘शून्य बजेट कल्पना गरी कामको जिम्मेवारी दिइने प्रवृत्ति अन्त्य हुनुपर्छ, मुलुकका विभिन्न भागमा भएका विपद्का घटनापछि सेनाले जनतालाई सक्दो सहयोग पुर्याइरहेको छ। प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र नभई राज्यकै इज्जत र प्रतिष्ठा हो।’
राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले राज्यले सफल अभ्यासका रूपमा राष्ट्रिय गौरवका सडक पूर्वाधार निर्माणमा सेनालाई जिम्मेवारी दिने क्रममा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी थपिएको बताए।
मन्त्रालयका सचिव बेगेन्द्रराज शर्माले राष्ट्रिय गौरवलगायतका आयोजनामा कम्तीमा पनि पूर्वानुमानयोग्य बजेटको सुनिश्चितता हुन आवश्यक रहेको बताए।
प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष बालानन्द शर्माले विश्व विद्यालयको सीमाङ्कन क्षेत्रभित्रको १०० रोपनी जग्गा समयमै अधिग्रहण गर्न, पहुँचमार्ग फराकिलो तुल्याउन तथा समितिमा नियुक्ति पाएका पदाधिकारीको पारिश्रमिकका लागि बजेट व्यवस्थाका लागि आग्रह गर्दै आयोजनाको लक्ष्यभन्दा बढी काम भएको जानकारी दिए।
सो अवसरमा अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय तथा राष्ट्रिय योजना आयोगका प्रतिनिधिले रक्षामन्त्रालय मातहत सञ्चालित राष्ट्रिय गौरव र अन्य विकास आयोजनालाई समयमै सम्पन्न गर्न सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाए।
सो अवसरमा नेपाली सेना इन्जिनियरिङ महानिर्देशनालयका प्रमुख उपरथी शरदलाल श्रेष्ठले कर्णाली कोरिडरसहित विभिन्न सडक आयोजना र राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख सहायकरथी विकास पोखरेलले आयोजनाका लागि समयमै बजेटको व्यवस्थापन गर्न आग्रह गरे।








![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)


